संप्रस पौडेल

“साथी त हो नि तर के गर्नु, बानी हुनु पर्‍यो र नि । नखानु सूर्ती खाइहाल्यो, सबै निले हुन्न ?“ घरभित्र थु थु थु थु गर्दै हिँड्ने त होइन नि यार । अझ चोरी औंलाले घुमाएर छोक्रा निकाल्दै डस्नामुनी फाल्नु त भएन नि ।”

यति सरापेपछि नहाँसे पनि हुने दाँत देखाउँदै हाँस्यो । आफ्नोभन्दा बेसी दाँतकै बेइज्जत भयो भन्ने ठानेर गुट्खाले खाएको ओठ औंलाले च्यापेर तान्दै मुखमाथि पर्दा लगायो । “ती ओठ पनि के हेर्न लायकका छन् र हेर–हेर चुरोटले डामेका ।” दुवै ओठ मुखभित्र घुसारेर लुकाउन जुँगा र दाह्रीले सहयोग गरे । दुधका साक्षी बिरालो । दाह्री पनि चुरोटले डामेर डल्ला परेका छन् । जुँगाको आगलागी वीमा गर्न ढिलाई भैसकेको छ ।

लत पनि अचम्म अचम्मका । पहिले पहिलेका अम्मलीहरु सुपारीले नधानेपछि सूर्ती सेवनमा लाग्थे । सूर्तीले नथेगेपछि चिलिमबाट बढुवा भएर हुक्कातिर लाग्थे । अनी मात्रै चुरोटतिर उक्लन्थे । चुरोटको ल्याकत पुगेन भने सालको पत्करको बिँडीले तलतल मेटाउँथे । बिस्तारै यसले केही असर गर्दैन भन्दै फिल्टर चुरोट सेवन गर्नेको बलियो हुने तर्क गर्न थाले । यी सबै सूर्तीहरुका कुरा । लत पनि सूर्ती, मान्छे पनि सूर्ती जस्तै गन्हाउँथे । आजकाल सूर्ती ढाक्न चकलेट र चियापत्ति खाइदिए पुग्दोरछ । चियापत्ति नै खाइदिएपछि अलीकति चिनी र दुध घुट्क्याएर स्टोभमाथि बस्ने हो भने चिया नै बन्दो हो ।

स्वास्थ्य पढाउने गुरु गोजीमा सूर्ती नै बोक्नुहुन्थ्यो । कक्षाबाहिर चुरोट च्यापेको कति देखियो कति । अन्यका त के कुरा गर्नु । ठूलो कुरा उहाँहरुले सधैं चुरोट सूर्ती सेवन गर्नु राम्रो हो भन्नु भएन । बाँसका लठ्ठीले विद्यार्थीका बम पड्काउने समयमा सकारात्मक सोचका लागि यति नै काफी थियो ।

मागी मागी सूर्ती चुरोट सेवन गर्नेहरू मुख पेट बिग्रिएर अस्पतालमा छटपाइरहँदा दुनियाँका अंग सिध्याउने सूर्ती कम्पनीका मालिकले पदक पाइरहेका छन् । सूर्ती चुरोटको बिरामी जाँच्ने डाक्टर पनि त्यसकै लतमा छन् । संसारका लोभलाभ त्यागेका जोगीहरू धुवाँ नै उडाइरहेका छन् ।

बरू सूर्ती खाएर आफ्नै गोजीमा थुके हुने । गाडीबाट बाहिर, भर्‍याङको कुनादेखि गाडीको गुनासम्म चुना लगाउँदै बिरुवाको मुनासम्म नबिगारे हुने । सूर्तीले फूर्ती घट्ने हो, बढाउने होइन । सूर्ती छोडौं अघी बढौं । जदौ । (लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)