हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र तरकारी, फलफूल तथा विविध सामग्रीहरुको घुमन्ते खुद्रा बिक्री प्रयोजनका लागि ठेलाहरु प्रयोग भइरहेका छन् । घुमन्ते खुद्रा बिक्री प्रयोजनका लागि ठेलाहरु प्रयोग हुँदा सर्वसाधारण तथा पैदलयात्रीले सास्ती खेप्नुपरेको छ ।
बसपार्कमै सर्वसाधारण तथा पैदलयात्रीको अवातजावतका लागि बाटो सानो हुँदा सास्ती हुने गरेको छ । तरकारी, कपडा र होटलहरु पनि सञ्चालन हुँदा उपभोक्ता तथा ग्राहकहरुको पनि भिड हुने गर्दछ । बढ्दो शहरीकरण, सार्वजनिक यातायात तथा पैदल हिँड्न र नगरको सौन्दर्य कायम भएको थिएन ।
चाडपर्वका बेला अझ बढी उपभोक्ता र ग्राहकको घुइँचोले सर्वसाधारण तथा पैदलयात्रीलाई सास्ती हुने गर्दछ । वर्षौंदेखि अव्यवस्थित ठेला सञ्चालनले सर्वसाधारण तथा पैदलयात्रीलाई परेको असुविधा तथा सास्तीप्रति प्रशासन र उपमहानगर भने मौन बस्ने गर्दथे । यस्तै बजार आसपासमा सञ्चालित ठेलाहरुबाट निस्कने फोहोर व्यवस्थापनका निम्ति उपमहानगरलाई चुनौती बन्ने गरेको छ । जसकारण वातावरणीय सौन्दर्य कायम गर्न कठिन हुने गर्दथे ।
तर मौन बसेको उपमहानगरले भने नगर क्षेत्रभित्र रहेका ठेलाहरुको अभिलेखीकरण गरी वार्षिक दर्ता तथा नवीकरण शुल्क लिइँदै आएको जनाएको छ । दर्ता तथा नवीकरण कार्य गत आर्थिक वर्षहरुमा प्रभावकारी हुन नसकेको बताइएको छ । अव्यवस्थितरुपमा सञ्चालन भएका ठेला तथा साधनहरु नियन्त्रणमा लिन वाञ्छनीय देखिएसँगै अभिलेखीकरण गरी प्रतिदिन २० रुपैयाँका दरले ठेलासँग मासिक ६ सय रुपैयाँ कर उठाइने उपमहानगरपालिकाका राजस्व प्रशासन प्रमुख श्यामकुमार श्रेष्ठले बताउनुभयो । मंसिर १६ गते बसेको उपमहानगरको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
चालु आर्थिक वर्षको पुस महिनोदेखि उपमहानगरले ठेलाहरुको अभिलेखीकरण सुरु गर्ने उहाँले बताउनुभयो । त्यसपछि ठेलाहरुका लागि उपमहानगरले नै उपयुक्त तथा व्यवस्थित स्थल उपलब्ध गर्ने उहाँले जानकारी दिनुभयो । ठेलाबाट लिइने कर रकमबाट उपमहानगरद्वारा परिचालित सरसफाईकर्मीका पारिश्रमिकमा प्रयोग गरिने जानकारी दिनुभयो । तरकारी तथा फलफूल बिक्रीका लागि प्रयोग भएका ठेलाहरुबाट निस्कने फोहोर वस्तुहरु उपमहानगरले नै व्यवस्थापन गर्ने हुँदा कर लिनुपरेको उहाँले बताउनुभयो ।
बढ्दो शहरीकरण व्यवस्थित गर्न, सार्वजनिक यातायात तथा पैदल हिँड्न र नगरको सौन्दर्य कायम गर्न अव्यवस्थितरुपमा सञ्चालन भएका ठेला तथा साधनहरुलाई नियन्त्रणमा लिन वाञ्छनीय देखिएको उपमहानगरले जनाएको छ । ढेड वर्षदेखि ठेलामा तरकारी बेच्दै आउनुभएका व्यापारी प्रमोद जैसवाल भन्नुहुन्छ, ‘अहिलेसम्म उपमहानगरले ठेलाहरुबाट कर नउठाएको उहाँले बताउनुभयो ।’