हेटौंडाः आदिवासी जनजाति आयोगले आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा आदिवासी जनजातिका सवाल, आदिवासी जनजाति आयोगले सम्पादन गरेका काम कारवाही लगायतका विषय समेटिएको आयोग अध्यक्ष थापा मगरले जानकारी दिनुभयो ।
आयोगले देशका सातै प्रदेशमा आफ्नो वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम अनुसार बागमती प्रदेशमा पनि प्रतिवेदन बुझाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो । प्रतिवेदन बुझ्नु हुँदै प्रदेश प्रमुख शर्माले आदिवासी जनतातिलाई राज्यको पहुँचमा ल्याउनका लागि आयोगलाई लागीपर्न सुझाव दिनुभयो । आदिवासी जनजातिको सीप, श्रम तथा जाँगरको सम्मान गर्दै उनीहरुको उत्थान हुने खालका कार्ययोजनाहरु अघि बढाउनुपर्ने बताउनुभयो । आयोगलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि प्रमुख शर्माले शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिवेदन बुझाउने कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, आयोगका सचिव भोला दाहाल, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारसमणि फूँयालको पनि उपस्थिति रहेको थियो ।