थाहा नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा सहभागी नेकपा एकीकृत समाजवादीको नेताहरु ।

हेटौंडाः नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओलीको अहंकारले कम्युनिष्ट आन्दोलनमा गहिरो चोट लागेको बताउनुभएको छ । थाहा नगरपालिका ११ र १२ मा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुँदै उहाँले त्यही कम्युनिष्ट आन्दोलनलाई लागेको क्षतिलाई पूर्ति गर्न आफूहरुले पार्टी पुनर्गठनको कदम चालेको स्पष्ट गर्नुभयो ।

मन्त्री खतिवडाले अनेकौं आन्दोलनबाट प्राप्त उपलब्धीलाई व्यक्तिवादले सक्काउन खोजेको आरोप लगाउनुभयो । मन्त्री खतिवडाले खोप नलगाएका सबै जनतालाई खोप लगाउने आफ्नो जिम्मेवारी रहेको बताउनुहुँदै स्टक रहेको खोप नागरिकलाई लगाउनका लागि स्वास्थ्यकर्मीहरु खोपको डब्बा बोकेर गाउँ–टोल पुगेर भएपनि प्रत्येक नागरिकलाई खोप लगाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले अब १६ हजार स्थानबाट खोप कार्यक्रम गर्ने बताउनुहुँदै पहिलो र दोस्रो डोजको खोप पूरा गरिसकेकाका निम्ति बुस्टर डोज नेपाल सरकारले निशुल्क लगाइदिने बताउनुभयो ।

कार्यक्रममा पोलिट्व्युरो सदस्य दिलकुमारी पन्त, बाग्मती प्रदेश सदस्य गौतमवुद्ध लामा, जिल्ला सचिवालय सदस्य इश्वरलाल रुम्बा, डम्बर लामा, माधव तिमल्सीना, किरणमान बल लगायतले आफ्नो धारणा राख्नुभएको थियो । भेलाले थाहा ११ मा सेतो गोलेको अध्यक्षतामा ३७ सदस्यीय कमिटी तथा सुदर्शन शिकारीको अध्यक्षतामा २७ सदस्यीय युवा संघ तथा थाहा १२ मा लिलाबहादुर आलेमगरको अध्यक्षतामा २७ सदस्यीय तथा कमिटी तथा सोम गोलेको अध्यक्षतामा २१ सदस्यीय युवा संघ गठन गरिएको छ ।