Home मुख्य समाचार जनजाति आयोगको प्रतिवेदन बागमती प्रदेश प्रमुख समक्ष पेश

जनजाति आयोगको प्रतिवेदन बागमती प्रदेश प्रमुख समक्ष पेश

जनजाति आयोगको वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा हस्तान्तरण गरिँदै ।

हेटौंडाः आदिवासी जनजाति आयोगले आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा आदिवासी जनजातिका सवाल, आदिवासी जनजाति आयोगले सम्पादन गरेका काम कारवाही लगायतका विषय समेटिएको आयोग अध्यक्ष थापा मगरले जानकारी दिनुभयो ।

आयोगले देशका सातै प्रदेशमा आफ्नो वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम अनुसार बागमती प्रदेशमा पनि प्रतिवेदन बुझाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो । प्रतिवेदन बुझ्नु हुँदै प्रदेश प्रमुख शर्माले आदिवासी जनतातिलाई राज्यको पहुँचमा ल्याउनका लागि आयोगलाई लागीपर्न सुझाव दिनुभयो । आदिवासी जनजातिको सीप, श्रम तथा जाँगरको सम्मान गर्दै उनीहरुको उत्थान हुने खालका कार्ययोजनाहरु अघि बढाउनुपर्ने बताउनुभयो । आयोगलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि प्रमुख शर्माले शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिवेदन बुझाउने कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, आयोगका सचिव भोला दाहाल, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारसमणि फूँयालको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version