अधिकारीको ‘आफैंसँग’ र पुडासैनीको ‘टुप्पो तल्तिर जरा मास्तिर’ कृति सार्वजनिक गरिँदै ।

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा भएको २ सय ७२ औं साहित्य शृङ्खला कार्यक्रममा एकैपटक दुई वटा कृतिहरु सार्वजनिक गरिएको छ । शनिबार मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा रमेशमोहन अधिकारी र अप्सरा पुडासैनीको कृतिहरु प्रकाशित भएका हुन् ।

साहित्यकार अधिकारीको ‘आफैंसँग’ नामक संस्मरण, नियात्रा सङ्ग्रह र पुडासैनीको ‘टुप्पो तल्तिर जरा मास्तिर’ नामक संस्मरण, नियात्रा सङ्ग्रह बिमोचन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा प्राध्यापक डा. नारायण प्रसाद खनालले कृतिहरु बिमोचन गर्नुभएको थियो । यस्तै कार्यक्रममा दुबै कृतिहरुमाथि बिमर्श समेत भएको छ ।

अधिकारीको कृतिको समिक्षा अरुण खतिवडा र रजनी पौडेलले गर्नुभएको थियो भने पुडासैनीको कृतिको समिक्षा केशव सञ्जेल र भावना सापकोटाले गर्नुभएको थियो । अधिकारीको यसअघि पनि सम्झनाको सेरोफेरो र घुम्तीहरु छेलिएपछि नामक दुई वटा संस्मरण, नियात्रा सङ्ग्रह तथा गुराँस र युद्ध नामक कविता सङ्ग्रह प्रकाशित रहेका छन् भने पुडासैनीको यसअघि कुकुर बेचेर कोसेली नामक संस्मरण सङ्ग्रह प्रकाशित रहेको छ ।

झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार आरसी रिजाल, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, साहित्यकार रामचन्द्र आचार्य फुर्सती, नवराज शर्मालगायतकाको आतिथ्य रहेको थियो ।