विद्यार्थीको अध्ययन क्षमता विकास गर्न किताबमात्रै पर्याप्त छैन । अध्ययनका विविध तरिकाहरु छन्, तर नेपालका अधिकांश विद्यालयमा शिक्षकले किताबमा भएको विषयहरुमात्र पढाउने गरेका छन् । अध्यापन गराउँदा शैली फरक भएमात्र पनि सिकाई क्षमतामा फरक पर्न सक्छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने सबै सरकारी शिक्षकहरुको तरिका र विधि एउटै छ । अझै सरकारी शिक्षकहरुमा जिम्मेवारीभन्दा जागिरे मनस्थिति बढी हुने गरेको गुनासो छ । शिक्षक आफैंमा पनि मौलिक विधिको श्रृजना गरी पढाउने इच्छाशक्ति नै पाइँदैन । कक्षाकोठामा शिक्षकले पाठ पढ्ने र विद्यार्थीले सुन्नेमात्रै हुँदै आएको छ । सिकाईको यो विधि अति पुरातन हो, जुन विधिले आधुनिक विश्व शिक्षालाई भेटाउन सक्दैन ।

स्थानीय तहमा शिक्षाको अधिकार आएपछि केही फरक हुने अपेक्षा थियो । तर भिन्नता छैन । जनप्रतिनिधिहरुले स्थानीय शिक्षाको पद्दतिमा नयाँ ढाँचाको विकास गर्न सकेका छैनन् । विद्यार्थीको क्षमता विकास र मौलिक श्रृजनाका लागि सरकारले विगतदेखि नै अतिरिक्त क्रियाकलापलाई समावेश गरेको थियो । पछिल्लो समय स्थानीय तहहरुले पनि प्रत्येक शुक्रबार १ बजेसम्म कक्षा सञ्चालनपछि अतिरिक्त क्रियाकलाप गराउनुपर्ने अनिवार्य नियम बनाएका छन् । हेटौंडा उपमहानगरपालिकाले आफू मातहतका सबै विद्यालयहरुलाई यही नियम बनाइदिएको छ । नियम कार्यान्वयन हुने र गर्ने ठाउँ विद्यालय हुन् । तर विद्यालयहरुले अतिरिक्त क्रियाकलापलाई महत्व दिएका छैनन् । अतिरिक्त क्रियाकलापका लागि छुट्याएको समय बिदाको मान्यतामा प्रयोग हुँदै आएको छ ।

विद्यार्थीको अध्ययन क्षमता बढाउन र श्रृजनशीलता विकास गराउन अतिरिक्त क्रियाकलाप अनिवार्य नै हुन्छ । किताबमात्रै पढ्ने र पढाउने भन्दा खेल वा अन्य गतिविधिमार्फत् सिकाउँदा प्रभावकारी हुन्छ । विविध क्रियाकलापमार्फत् अध्यापन गराउँदा विद्यार्थीमा जान्ने जिज्ञासा बढ्छ भने सिकेको कुरा लामो समयसम्म स्मरणमा रहन जान्छ । तर विद्यालय तथा शिक्षकले किताबमा उल्लेख भएका विषयलाई औपचारिकरुपमा सक्नेमात्रै काम गरेका हुन्छन् । अतिरिक्त क्रियाकलाप गर्न छुट्याएको समयलाई व्यक्तिगतरुपमा उपयोग गर्ने प्रवृत्ति छ । जसले गर्दा हेटौंडा उपमहानगरपालिकाभित्रका धेरै विद्यालयहरुले शुक्रबार हाफ टाइमपछि विद्यालय नै बन्द गराउँदै आएका छन् । हाफ टाइमसम्म अध्यापन गर्ने र त्यसपछिको समय विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने हुन्छ ।

विद्यालय आफैंले अतिरिक्त क्रियाकलाप गर्दैनन् । अरुले आयोजना गरेका कार्यक्रममा समेत उल्लेख्य सहभागिता छैन । हेटौंडा उपमहानगरले वार्षिक कार्यक्रमअन्तर्गत् आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा ६० प्रतिशत विद्यालयका विद्यार्थीको मात्र सहभागिता रहने गरेको छ । विद्यार्थीको ज्ञान तथा क्षमता विकासका लागि स्थानीय तहले अतिरिक्त क्रियाकलापमा जोड दिए पनि विद्यालयमा शून्यप्रायः छ । वादविवाद, वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ, गणित/विज्ञान प्रदर्शनी, विभिन्न लेखन तथा खेलकुद प्रतियोगिता गर्नुपर्ने हो, तर अरुले गरेकोमा सहभागिता पनि न्यून हुँदै आएको छ । सहभागिता बढाउने, गतिविधि सञ्चालन गर्न प्रेरित गर्ने तथा अनुगमन प्रभावकारी बनाउन जरुरी छ । अटेर गर्नेहरुलाई दण्ड वा जरिवानाको समेत व्यवस्था भएमात्र विद्यालयहरुले अतिरिक्त क्रियाकलापमार्फत् ज्ञान प्रदान गर्न सक्नेछन् ।