लैंगिक हिंसाविरुद्व १६ दिने अभियान सुरु भएको छ । लैंगिक हिंसाविरुद्धको अभियानको मुख्य नारा ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । विभिन्न दिनलाई संयुक्त राष्ट्रसंघदेखि देशहरुले दिवसका रुपमा एक दिन मनाउने गर्दछन् । तर लंैगिक हिंसाविरुद्धको अभियान भने १६ दिनसम्म मनाइन्छ । यति लामो समयसम्म अभियान सञ्चालन गर्नु भनेको औपचारिक कार्यक्रमका लागि मात्र हैन । अभियानका क्रममा हिंसाविरुद्धमा ठोस गतिविधि र निर्णय गर्न सक्नुपर्दछ । लैंगिक हिंसाको कारण, उत्पत्ति र त्यसको न्यूनीकरणका उपायको खोजी गर्न सक्नुपर्दछ ।

‘घरबाटै सुरु गरौं’ भन्ने नाराले लैंगिक हिंसा प्रत्येक घरमा छ भन्ने सन्देश पनि छ । समाज रुपान्तरण त्यतिबेला मात्र सम्भव हुन्छ, जतिबेला प्रत्येक घरपरिवार रुपान्तरण भएको हुन्छ । यसका लागि व्यक्ति स्वयम् जिम्मेवार हुन आवश्यक छ । हिंसा रोक्न परिवारभित्रको एकजना मात्र पनि पर्याप्त हुनसक्छ । त्यसैले घरघरबाटै हिंसाविरुद्धको अभियानमात्र हैन कि, हिंसा अन्त्य गर्न आवश्यक छ । लैंगिक हिंसा भन्नासाथ महिला हिंसाका रुपमा मात्र बुझ्ने गरिँदै आएका छन् । तर लैंगिक हिंसाले जुनसुकै लिंगको मानिस पनि हिंसामा पर्नुहुँदैन भन्ने मुख्य सन्देश दिएको हुन्छ । विपरित लैंगिक भएकै आधारमा कसैले कसैलाई हिंसा गर्नु हुँदैन ।

देशभर लैंगिक हिंसाविरुद्धको अभियान सुरु भएको हो । अभियान सञ्चालन गर्दै गर्दा महिला र किशोरीको सुरक्षा हुनुपर्नेदेखि बेचविखन अन्त्यजस्ता विषयले मात्रै प्राथमिकता पाउँदै आएको छ । कार्यक्रमका वक्ताहरुले पनि लैंगिक हिंसालाई महिला हिंसाकै रुपमा बुझ्ने र बुझाउने गर्दै आएका छन् । सामाजिक परिस्थिति र परिवेश तथा भएका घटनाको विश्लेषण गर्दा लैंगिक हिंसा भने पनि नेपालजस्तो देशमा महिला हिंसा नै हो । हिंसा न्यूनीकरणका आरोप प्रत्यारोप भन्दा पनि सहकार्य आवश्यक छ । महिला हिंसाको मुख्य दोषी नै महिला बन्ने गरेका छन् । पितृसत्ता र पुरुषवादी चिन्तन पुरुषमा मात्र हैन कि, महिलामा पनि अधिक छ । त्यसैले लैंगिक हिंसा अन्त्यका लागि समाजका सबै पक्ष जागरुक हुन आवश्यक छ ।

अभियान र नारा देखावटी बन्दै आएको छ । जो मानिस अभियानमा निरन्तर अगुवाई गरेको हुन्छ, उसैले आफ्नो घरमै लंगिक हिंसा गरेको हुन्छ वा हिंसामा परिरहेको हुन्छ । त्यसैले आफ्नो अवस्थाबाटै सुधार हुनुपर्दछ । अभियानको औपचारिकताभन्दा व्यवहारमा देखिनुपर्दछ । घरमा हिंसा लुकाएर अभियानमा हिँड्नुको कुनै औचित्य हुँदैन । अभियान देखाउन मात्र हैन, ठोस परिणामका लागि सञ्चालन गरिनु पर्दछ । ठोस नतिजा दिनेगरी कार्यक्रमलाई सम्बन्धित पक्षसम्म पु¥याउनु पर्दछ । औपचारिकताका लागि दिनगन्ती गरेर १६ दिन पु¥याउनुभन्दा प्रत्येक नागरिकले जीवनभर हिंसाविरुद्ध कसम खानु आवश्यक छ । कोही कसैले कुनै प्रकारको हिंसा नगर्ने हो भने अभियानको आवश्यकता नै हुनेछैन । नारालाई व्यवहारमा उतार्नका लागि अभियान सफल बन्नु आवश्यक छ ।