मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट आएको परिणामले राजनीतिक दलहरुलाई शिक्षा दिएको छ । आफूहरुले निणर्य गरेपछि समर्थकहरुबाट हुबहु लागु गर्दछन् भन्ने चिन्तनमा राजनीतिकर्मीले परिवर्तन गर्न आवश्यक देखिएको छ । दलले गरेको निणर्यलाई व्यवसायीले सहजै स्विकार्दैनन् भन्ने कुरा व्यावसायिक निर्वाचनले प्रष्ट पारेको छ । जहाँ पनि राजनीतिक हस्तक्षेप गर्न अग्रसर हुने दलहरु मकवानपुर उद्योव वाणिज्य संघको निर्वाचनबाट समिक्षा गर्नुपर्ने ठाउँमा पुगेका हुनु पर्दछ । हुनत कुनै पनि संघ, संस्थामा आवद्ध भएकाहरुले आफ्ना सदस्यहरु भन्दा पनि राजनीतिक नेतृत्वको बढी विश्वास गर्दछन् । दलहरुले हस्तक्षेप गर्ने भन्दा पनि संस्थाहरु स्वयम् राजनीतिक हस्तक्षेपलाई निम्त्याउने काममा उद्दत हुँदै आएका छन् । मकवानपुर उद्योग वाणिज्य संघमा पनि त्यही प्रवृत्ती देखिँदै आएको छ । तर निर्वाचनले राजनीतिक हस्तक्षेप भन्दा फरक परिणाम दिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेद्वारीको चर्चा, उम्मेद्वारी दर्ता र प्रचार हेर्दा व्यावसायिक भन्दा दलीय निर्वाचन जस्तै भएको थियो । व्यावसायिक हित भन्दा पनि पार्टीको सिद्धान्त र नेतृत्वको नाम भजाउने प्रयास भएको थियो । व्यावसायिक समस्या भन्दा पनि राजनीतिक स्वार्थबाट उम्मेद्वारहरु प्रेरित थिए । उम्मेद्वारी दर्ता पनि प्यानलगत नै भएको थियो । उम्मेद्वारलाई दलहरुले समर्थन गरेको भन्दा पनि दलकै उम्मेद्वार बनेका थिए । निर्वाचनको चर्चा सुरु भए लगत्तै व्यवसायी नेताहरु काठमाडौंसम्म पुगेर पार्टी प्रवेश गरेका थिए । त्यही आधारमा उम्मेद्वारी दर्ता पनि भएको हो । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन भन्दा भातृ संस्थाको चुनाव भएको थियो । नेताहरुको आशीर्वाद लिएर उम्मेद्वारी दिए पनि मतदाताहरुले स्वतन्त्रपूर्वक व्यक्तिहरु छनौट गरेको अवस्था छ ।

दलीय आधारमा नै भोट दिएका भए कुनै एक प्यानल विजयी हुने थियो । तर मतदाताले व्यक्तिगत आधारमा मतदान गरेकाले मिश्रित नजिता आएको छ । चार जना उपाध्यक्षमा फरक पक्षबाट दुई/दुई जना विजयी भएका छन् । सदस्यहरु पनि अध्यक्षको प्यानलबाट केही बढी देखिए पनि मिश्रित नै छन् । केही उम्मेद्वारहरु व्यावसायिक हितका लागि उपयोगी पात्र हुँदा हुँदै पनि पराजित भएका छन् । आगामी नेतृत्वका लागि बाटो बनाउने क्रममा अन्तरघात समेत भएको गुनासो सुनिएको छ । निर्वाचनमा यस्ता आरोप प्रत्यारोप स्वभाविक हुन् । तर पेशागत हितका लागि भूमिका निर्वाह गर्न सक्ने व्यक्तिहरुलाई नेतृत्वबाट पलायन गर्ने उद्देश्यबाट पराजित गरिएको हो भने राजनीतिको दुष्प्रभाव मान्नु पर्दछ ।

भौगोलिक र बसोबासको दृष्टिकोणबाट मकवानपुरमा पहाडी जनसंख्याको बाहुल्यता छ । व्यावसायिक क्षेत्रमा पनि यही समुदायको वर्चश्व छ । तर उद्योग वाणिज्य संघमा लामो समयदेखि मकवानपुर जिल्लामा बसेका तराई/मधेशी मुलका व्यक्तिलाई सहजै नेतृत्वमा पुर्‍याएको यो घटनाले सामाजिक सद्भावको एउटा नमूनाका रुपमा पनि लिन सकिन्छ । राजनीति, क्षेत्रीयता, जातियता भन्दा पनि माथि उठेर मकवानपुरे व्यवसायीहरुले गरेको निणर्य अनुपम छ । मकवानपुुरका सबै व्यवसायीहले राजनीतिक हस्तक्षेपलाई पनि स्विकार गरेको देखिएन । यस्तै जातियता, क्षेत्रीयता र रंग आदिलाई पनि बिर्सिदिएर सामाजिक सद्भावका लागि सचेत र इमान्दारिताको नमूना पेश गरेका छन् । जुन सद्भावका साथ भएको चयनले व्यावसायिक समस्या समाधान र नयाँ अवसर आत्मसात गर्न पनि यही एकता कायम गर्न सकोस् ।