अनिल खड्गे

मानवीय विकासको तथ्य आधारले इतिहास दिन नसके पनि समय र परिस्थितिले मानवीय व्यवहारको विकाससँगै धर्तीका भुगोलहरु निकै रुपान्तरण हुँदै सोचेभन्दा बढी विकासले फड्को मारी कुनै देशभन्दा कुनै कमि छैन भन्ने होडबाजीले विश्व आज सुविधायुक्त भएको छ । यस्तो विकासमा समुहको निकै ठूलो भूमिका र मानवीय योगदानको महत्व रहीआएको सर्वविदितै छ । समूहबाट जन्मिएका संघ, संस्था हुँदै राजनीतिक पार्टीहरुको स्थापना भएको विश्वमा धेरै छन् । आफ्नो देशको हैसियत अनुसार विकासका पूर्वाधारहरु तयार भएको देखिएको छ ।

समूहको गठन हुने कार्य आफ्नै जात समुदायबाट भएको इतिहास साक्षी छन् । एक जात दुई जात हुँदै बहुजातीयबाट संघ, संस्था र दलको निर्माण भएको तथ्यहरु खोजीरहनु नपर्ला । जातीय संघ र संस्थालाई सुधार गरी दलीय प्रणाली लागु हुँदै देशको नेतृत्व गरी विकासको रुपरेखाहरु कोर्न नेताहरुको नामबाट शासक बनेका उदाहरणको पानाहरु पल्टाइरहनु त्यति आवश्यकता नपर्ला । बरु जातीय संस्थाहरुले महत्वपूर्ण भूमिका विषयमा जति वयान र प्रशंसा गरेपनि सकिने अवस्था छैन ।

नेपालको इतिहासमा पहिलो समूह भएको जात हो नेवार । गुठीको नामबाट समूह बनाई वर्षको दुईपटक भेला भई भलाकुसारीका साथै भोजभतेरमा रमाएर मित्रता कायम गरी रमाइलो मान्ने नेवारहरुमा छुट्टै मौलिकता बोकेको जात हो । नेवारहरुमा धेरै थरहरु भए तापनि आफ्नो थरको गुठीबाट टाढा बस्न कहिल्यै चाहिएन । मर्दा र पर्दा सहयोग गर्ने गुठीको परम्पराबाट बञ्चित हुनुभएको स्वभावबाट भागेजस्तो महसुस हुने भएकोले सहभागितामा उत्साहजनक देखिन्छ । जहाँ गुठी त्यहाँ नेवारी संस्कार र संस्कृति,जात्रा, भोज, गुफा, बेलविवाह, ब्रतबन्ध चाडपर्वसँग घनिष्ट सम्बन्ध कायम रहन सकेकोले आज नेवारहरु संस्कृतिको धनीको रुपमा विश्वमा चर्चित भएका छन् । गुठीले सामाजिक कार्यहरुमा पनि साथ दिएको पाइएको छ । बटुवाहरु बस्न, आराम गर्न र प्यास मेटाउन पाटी, पौवा र ढुङ्गे धाराहरुको निर्माण गरी ज्वलन्त उदाहरण कार्यहरु गरेको काठमाडौं उपत्यकाभित्र आज पनि हेर्न पाइन्छ ।

नेवार समुदायभित्रका जुनसुकै थर र जातहरुले गुठीहरु गठन गरेर सञ्चालन गरे तापनि रिस, इस्र्या, र विभेद गरेको पाइएको छैन र जात्रा तथा परिआएको बेलामा सबै गुठीहरुले साथमा साथ दिएको आज पनि घाम जति कै छर्लङ्ग देख्न पाइन्छ । सेवा भावबाट पछि नहट्ने नेवार समुदायको मौलिकतामा उज्यालो मात्र पाइन्छ अँध्यारो होइन ।

समय, परिस्थिति अनुसार गुठीले पनि परिमार्जनका साथै जातीय बहुल्यता नभएको ठाउँमा सामुहिक नेवार जातीयहरु मिलेर नेवा गुठी खलः गठन गरी बिर्सन लागेको नेवारको भाषा, भेषभुषा र संस्कृति बचाउन तम्सिएको अवस्थालाई स्वागत गर्नैपर्ने हुन्छ । विभेदमुक्त नेवार समुदायहरुको पहिचान भनेको नै मौलिक अधिकार प्राप्त गुठीको नामबाट जान्छ ।

हामी बसेको स्थान समाजलाई सुन्दर भविष्यको परिकल्पनाको आधारशिलाले एकाधिकार जनाउन सकियो भने मात्र हाम्रो सपना साकार भएको महसुस गर्न सकिन्छ । जातीय समुह यो देशको अमुल्य आधार हो । सत्यताको आधारमा पाइलाहरु समुहबाट परिचालित मानवीय विकासमा टेवा दिने र विश्वासका बाटो निर्माण गरी आत्मीय भावहरुको कदर र सहयोगको मिलनबाट मित्रता कायम बनाउन अटलताको शिखर जस्तै रहिरहनु सक्नु नै नेवार समुदायहरुको लक्ष्य हुनुपर्छ ।

जातीय संघ, संस्थाले सामाजिक कार्यहरुमा गरिने सहयोगको भावनालाई सबल बनाई भाइचाराको पवित्र सम्बन्धलाई गतिशील बनाई मानवीय कर्तव्य कायम राख्नु नै धर्म कमाउनु हो । कुण्ठित र स्वार्थ भावबाट स्थापना गरिएको कुनैपनि जातीय वा संघसंस्थाले सार्थकता पाउन कठिन हुने र यसले नकारात्मक र विकरालको बाटो अपनाई जातीयताको नाम सम्प्रदायक हिंसाले ग्रसित भएर अशान्तिले ठाउँ लिने भएकोले बेलामा सचेत भएर एक आपसमा माया र सद्भावको फुल रोपेर सम्बन्धलाई सुगन्धित बनाउनुका साथै देश र समाजको हित हुने गरी खोलेको संघ संस्थाले समाजलाई परिवारिक वातावरणको बगैंचा फुल्ने फुल जस्तै बनाउन सकिन्छ भन्ने यो पंक्तिकारको रहेको छ ।