हेटौंडाः बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप खरिद नगर्ने भएको छ । चालु आर्थिक वर्षमा खोप खरिद गर्नका लागि प्रदेश सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । खोप खरिद गरेर प्रदेशबासीलाई सहजरुपमा उपलब्ध गराउने भनिए पनि प्रदेश सरकारले खोप खरिद नगर्ने भएको प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले जानकारी दिनुभयो ।
संघीय सरकारले मात्रै खोप खरिद गर्ने र त्यो देशभर वितरण हुने उहाँले बताउनुभयो । बागमती प्रदेश सरकारले खोप खरिद गर्नका लागि छुट्याएको २ अर्बमध्ये हालसम्म कुनै रकम खर्च हुन सकेको छैन । संघीय सरकारले नै खोप खरिद गरेर प्रदेश सरकारलाई उपलब्ध गराउँदै आएकोे छ ।
बागमती प्रदेशको उपत्यकाका जिल्लामा खोप बढी लगाइएको छ । प्रदेशमा ३४ प्रतिशत नागरिकले हालसम्म कोभिड–१९ विरुद्धको खोप पाएका छैनन् । अन्यले भने कोभिडविरुद्धको पहिलो डोजको र दोस्रो डोजमध्ये ६० प्रतिशतभन्दा बढीले कुनै एक लगाएका छन् ।
कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता ईन्द्रबहादुर बानियाँले सरकारले खोप खरिद गर्न ढिलाई गरेको बताउनुभएको छ । महामारीमा खोप ल्याएर प्रदेशका बासिन्दालाई सहज उपलब्ध गराउनुपर्नेमा खोप खरिद गर्न भनेर २ अर्ब बजेट राखेपनि प्रदेश सरकारले कुनै पहल नगरेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारले खोप खरिद गर्न पहिलेदेखि केन्द्र सरकारसँग समन्वय गरिरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । उहाँले प्रदेशको स्वास्थ्य मन्त्रालय स्थापित हुनुभन्दा पहिला नै खोप खरिद गर्ने विषयले प्राथमिकता पाएको भन्दै संघीय सरकारले खोप खरिद गर्न आवश्यक परेमा प्रदेशसँग उक्त बजेट माग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी निरन्तर संघीय सरकारसँग छलफलमै छौं । हामीसँग पर्याप्त जनशक्ति पनि छ । हामीले वडा तहको स्वास्थ्य चौकीबाटै नागरिकलाई सहज हुने हेतुले खोप लगाएका छौं ।’
बागमती प्रदेशका स्वास्थ्यमन्त्री कटुवालले सरकारसँग बजेट पर्याप्त भएको भन्दै प्रदेशले विनियोजन गरेको २ अर्ब स्वास्थ्यकै अन्य क्षेत्रमा खर्च गनुपर्ने धारणा राख्नुभएको छ । संघीय सकारले खोप उपलब्ध गराएसँगै प्रदेश सरकारले खोप खरिद गर्न छुट्याएको बजेट खर्च नभएको उहाँको भनाई छ । उहाँले यो वर्षभित्र प्रदेशका सबै नागरिकले खोप लगाइसक्ने दाबी गर्नुभयो ।
प्रदेशको रसुवा जिल्ला, धादिङको रुबी भ्याली गाउँपालिका लगायतका स्थानमा पनि पूर्ण खोप लगाउने तयारी भइरहेको छ । भएका खोपहरु धमाधम प्रदेशमा लगाइरहेको भन्दै थप खोप प्रदेशलाई संघीय सरकारले दिने जानकारी आएको मन्त्री कटुवालको भनाई छ । उहाँले हालै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्दै सांगठनिक संरचना तयार भएपनि कर्मचारी सबै नियुक्त भइनसकेको बताउनुभयो । मन्त्री कटुवालले भन्नुभयो– ‘सचिव पनि हाजिर हुन आइपुगेका छैनन् । कर्मचारी पनि नियमित छैनन् । छिट्टै कोभिड–१९ विरुद्धको खोप प्रदेशमा १८ वर्षमाथिकालाई लगाउने तयारी छ ।’
यसैगरी मन्त्री कटुवालले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी ग्रहण गरेसँगै पीसीआर प्रयोगशाला र अक्सिजन प्लान्ट नभएको चितवन, ललितपुर, धादिङमा राखिएको बताउनुभयो । छोटो समयमै ललितुरको बज्रबाराही अस्पतालमा पीसीआर प्रयोगशालाको स्थापना भएको उहाँको भनाई छ । यस्तै अब सिन्धुपाल्चोक र रामेछापमा पीसीआर प्रयोगशाला स्थापना हुनेछ ।
बागमती प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर प्रयोगशाला स्थापना हुने उहाँको भनाई छ । प्रदेश सरकारले कोभिड–१९ को तेस्रो लहर आउनुपूर्व नै अस्पतालको सुधार गर्नुपर्ने पक्षहरुलाई ध्यान दिने मन्त्री कटुवालले बताउनुभयो । बागमती प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेपछि अक्सिजन अभाव नहुने उहाँले बताउनुभयो ।