हेटौंडाः मकवानपुरका नागरिकहरुलाई निःशुल्क रगत प्रदान गर्ने कार्यक्रमका लागि हालसम्म मकवानपुरका ४ वटा पालिकाहरुले मात्र रक्तसञ्चार केन्द्र हेटौंडासँग सम्झौता गरेका छन् । जसअन्तर्गत् उक्त पालिकाभित्रबाट उपचारका लागि आएका नागरिकहरुलाई रक्तसञ्चार केन्द्र हेटौंडाले निःशुल्क रगत प्रदान गर्दै आएको छ ।
जिल्लाका १० वटै पालिकाका नागरिकहरुलाई निःशुल्क रगत प्रदान गर्नका लागि कार्यक्रम अघि बढे पनि हेटौंडा उपमहानगरपालिकासहित ६ वटा पालिकाहरुले अझै सम्झौता गर्न बाँकी रहेको छ । उपचारका लागि आएका बिरामीहरुलाई रगत आवश्यक पर्दा रक्तसञ्चार केन्द्र हेटौंडाले १ युनिट रगत प्रदान गरेबापत ८ सय रुपैयाँ लिँदै आएको छ ।
सम्झौता भएका पालिकाभित्रका नागरिकहरुलाई उक्त रकम छुट हुनेछ भने उक्त रकम सम्बन्धित गाउँपालिकाले नै रक्तसञ्चार केन्द्रलाई प्रदान गर्ने केन्द्रका प्रमुख टंकप्रसाद दाहालले जानकारी दिनुभयो । तर जिल्लाका हेटौंडासहित थाहा नगरपालिका, भीमफेदी, राक्सिराङ, ईन्द्रसरोबर, कैलाश गाउँपालिकाले सम्झौता गर्न बाँकी रहेको छ ।
हेटौंडा उपमहानगरपालिकाले पालिकाभित्रका नागरिकलाई रगतको अभाव भएको बेला निःशुल्क रगत वितरण गर्न कार्यविधि तयार गरिरहेको जनाइएको छ । हेटौंडाका जनसंख्या धेरै हुनुका साथै रगतको माग धेरै हुने हुनाले कसरी रगत प्रदान गर्न सकिन्छ भन्ने विषयहरुको निर्णय भएपछि सम्झौता गरिने रक्तसञ्चार केन्द्रका प्रमुख दाहालले बताउनुभयो ।
उपमहानगरपालिकासँग सम्झौताको प्रक्रिया अघि बढिरहेकाले अबको एक हप्ताभित्रमा उपमहानगरले पनि निःशुल्क रगत वितरणको सम्झौता गर्ने दाहालले जानकारी दिनुभयो । अन्य पालिकाहरुसँग सम्झौताको विषयमा कुरा भएपनि पालिकाहरुमा बजेट अभावको कुरा आएका कारण प्रक्रिया अगाडि बढ्न नसकेको उहाँको भनाई छ ।
जिल्लाको मनहरी, बागमती, बकैया र मकवानपुरगढी गाउँपालिकाले भने निःशुल्क रगत प्रदानका लागि सम्झौता गरिसकेको छ । हाल नागरिकहरुले एक युनिट रगत प्राप्त गर्नका लागि ८ सय ५० रुपैयाँ तिर्दै आएका छन् । उक्त रकम रगतको नभएर रक्तदान गरेकाहरुको रगतमा विभिन्न परीक्षण गर्न तथा रगत राख्ने झोला खरिद खर्चबापतको रकम रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
हाल सम्झौता भएका गाउँपालिकाका नागरिकहरुले सोही रकम पनि तिर्न पर्दैन । यसका लागि डाक्टरले दिएको पुर्जामा बिरामीको बास्तविक ठेगाना र बिरामी स्थायीरुपमा सोही पालिकामा बसोबास गर्ने कुरा खुल्ने कागजपत्र वा सम्बन्धित पालिकाका जनप्रतिनिधिले प्रमाणित गर्नुपर्ने प्रमुख दाहालले बताउनुभयो । सम्झौता भएका पालिकाहरुका नागरिकले रगत लिएको प्रमाणित हुने कागजको प्रतिलिपि र बिल मासिकरुपमा पालिकामा प्रदान गरेर प्रतियुनिट ८ सय ५० रुपैयाँ गाउँपालिकाले प्रदान गर्दैै आएको पनि उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय हेटौंडासहित जिल्लाका विभिन्न स्थानमा रक्तदान कार्यक्रम भइरहेका कारण हाल रगतको अभाव नभएको प्रमुख दाहालले बताउनुभएको छ । कोरोनाको संक्रमण कम भएको अवस्थामा रगतको मागसमेत पहिलेभन्दा कम रहेको उहाँले जानकारी दिनुभयो । चितवनमा रगत आवश्यक पर्दा हेटौंडाबाट रगत पठाइँदै आइरहेको छ भने हालसम्म हेटौंडामा अन्य स्थानबाट रगत ल्याउनुपर्ने अवस्था नआएको उहाँको भनाई छ । चितवनमा हेटौंडाबाट बिरामीहरु रेफर भएर जाने गरेका कारण जिल्लाकै नागरिकहरुलाई सहजरुपमा रगत उपलब्ध गराउनका लागि चितवनमा रगत पठाउने गरेको पनि उहाँले प्रष्ट पार्नुभयो । हाल रक्तसञ्चार केन्द्र हेटौंडामा १ सय २५ युनिट रगत मौज्दात रहेको छ ।