हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविकी विद्यालय नर्स विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नुहुँदै । फाइल तस्वीर ।

हेटौंडाः कक्षा ६ मा अध्यनरत बन्दना लामा आफ्नो विद्यालयमा नर्स भएकोमा खुशी मान्नुहुन्छ । विद्यालयमा राज्यले नर्सको सुविधा प्रदान गरेकोमा धेरै खुशी लागेको लामा बताउनुहुन्छ । मकवानपुरको हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा अध्ययनरत लामाले आफूलाई अलि गाह्रो महसुस भएको बेलामा आफ्नै विद्यालयबाट स्वास्थ्य सेवा लिने गरेको बताउनुभयो ।

बिहीबार विद्यालयमा आएकी लामालाई टाउको दुख्यो । उनले नर्स भएको कक्षमा आएर औषधी खाएर निको भएको जानकारी दिनुभयो । कहिलेकाहीँ विद्यालयमा आएपछि रजस्वला हुन्छ । तर विद्यालयबाट सजिलै सेनेटरी प्याड लिनसक्छौं । त्यसैले आफ्नो विद्यालयमा भएको नर्सको सुविधाले धेरै सहज भएको उनको अनुभव छ ।

आधुनिक राष्ट्रिय माविमा अध्ययनका लागि आउने विद्यार्थीहरुमा आउने स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि विद्यालयमा नर्सको व्यवस्था छ । बागमती प्रदेश सरकारले प्रदेशका केही सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गरेको छ । विद्यालयमा आउने विद्यार्थीमा हुनसक्ने सानोतिनो स्वास्थ्य समस्या समाधानका लागि नर्सका भूमिका महत्वपूर्ण रहने विद्यालयले जनाएको छ । आधुनिक माविमा पनि विद्यार्थीलाई चोटपटक लाग्दा अस्पताल लगिहाल्नुपर्ने अवस्था नभएको विद्यालयका प्रधानाध्यापक वीरवंश बैठाले जानकारी दिनुभयो । उहाँले विद्यालयमा नर्सको भूमिक महत्वपूर्ण रहेको बताउनुभयो ।

विद्यार्थीमा आउनसक्ने मुख्य समस्या टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउने, सानो कक्षाका विद्याार्थीहरु चञ्चले र चुलबुले हुने हुँदा दौडिँदा चोटपटक लाग्ने गरेको देखिएको छ । त्यस्तो सानो समस्याको उपचारका लागि विद्यार्थीहरु कक्षा छाडेर विद्यालय बाहिर जानुपर्दैन । त्यस्ता विद्यार्थीलाई विद्यालयमै सेवा दिँदै आएको आधुनिक माविकी नर्स करुणा श्रेष्ठले बताउनुभयो ।

उहाँले विद्यालयका सबै विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी जानकारी दिने गरेको पनि बताउनुभयो । अझ विद्यार्थीहरुलाई कोभिडको महामारीको बेला यसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डहरुको बारेमा जानकारी दिँदा उनीहरु सचेत भएकोसमेत श्रेष्ठले बताउनुभयो । यसैगरी उनीहरुलाई डेङ्गोजस्ता रोगहरुका बारेमा, पौष्टिक आहार, सर्ने नसर्ने रोगका बारेमा जानकारी दिनुका साथै विद्यार्थीहरुमा आउने स्वास्थ्यसम्बन्धी परामर्श धेरै हुने गरेको उहाँले बताउनुभयो । उनीहरुलाई स्वास्थ्यसम्बन्धी कक्षा नै लिने गरेको उहाँको भनाई छ ।

साना–साना भाइबहिनीहरु दौडिँदा, उफ्रिँदा चोटपटक लाग्ने हुनाले विद्यालयमा सबैभन्दा धेरै सानो कक्षाका भाइबहिनीहरुको उपचार गर्नुपर्ने नर्स श्रेष्ठले बताउनुभयो । दैनिक ४ देखि ५ जना विद्यार्थी सेवा लिन आउँछन् । यस्तै, महिला विद्यार्थीका लागि रजस्वलाको समयमा समस्या हुने भएकाले महिला विद्यार्थी रजस्वला भएको बेलामा सेनेटरी प्याड वितरण गरिने उहाँले बताउनुभयो । दैनिक २०–२५ ओटा सेनेटरी प्याड विद्यालयबाट वितरण हुन्छ । महिलामा रजस्वला हुने बेला देखिने समस्याहरु सामान्य भए औषधी वितरण गर्ने र अवस्था जटिल देखिए अस्पताल पठाउने गरेको उहाँले बताउनुभयो ।

विद्यालयमा नर्सको व्यवस्था हुँदा छात्राहरुले पनि आफ्नो समस्या सजिलै व्यक्त गर्ने गरेको उहाँको भनाई छ । २०७५ साल मंसिरदेखि विद्यालयमा नर्स श्रेष्ठले सेवा गर्दै आउनुभएको छ । स्वास्थ्यसम्बन्धी जानकारी गराउँदा विद्यालयका सबै विद्यार्थीहरुले जानकारी लिन धेरै उत्सुकता दिएर सुन्ने गरेको उहाँले बताउनुभयो ।