गुगल तस्बिर ।

हेटौंडाः करार सूचिमा रहनुभएकी सम्झना विडारीले हेटौंडा–१३ स्थित कालिका आधारभूत विद्यालयमा आफूलाई नियुक्त गर्न माग गर्दै हेटौंडा उपमहानगरपालिकामा निवेदन दर्ता गराउनुभएको छ । शिक्षक आवश्यकताको सूचना नै लुकाएर अनियमित ढंगले शिक्षक नियुक्ति गर्न खोजेपछि विडारीले शिक्षा विकास तथा समन्वय इकाई र हेटौंडा उपमहानगरपालिकालाई जानकारी गराएर आफूलाई नियुक्त गर्नुपर्ने दावी गर्दै शुक्रबार समन्वय इकाई र उपमहानगरमा निवेदन दर्ता गराउनुभएको हो ।

शिक्षक आवश्यकताको सूचना नै लुकाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारसिं बज्यूले बुहारीलाई नियुक्त गर्न लागेपछि विडारीले आफू करार सूचिमा रहेको र स्वतः नियुक्त गर्नुपर्ने माग गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको दबावमा शिक्षक नियुक्तिको प्रक्रिया भइरहेको विद्यालयका प्रधानाध्यापक चीनलाल श्रेष्ठले बताउनुभएको छ । आफूलाई शिक्षक नियुक्तिको विषयमा अध्यक्षले नै आवश्यक तयारी गरेको प्रधानाध्यापक श्रेष्ठको भनाई छ ।

शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भई करार सूचिमा रहेका उम्मेद्वारको हकमा शिक्षक आवश्यक भएको विद्यालयमा निवदेन दिए विद्यालयले सिधै नियुक्ति दिनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा छ । कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारसिं बज्यूले आवेदन फिर्ता गर्न पनि दबाव दिएको सम्झना विडारीले बताउनुभएको छ ।

शिक्षक नियुक्तिको प्रक्रियामा विवाद भएसँगै विद्यालयले भने शिक्षक आवश्यकताको विज्ञापन नै रद्द गर्ने निर्णय गरेको छ । विद्यालयले शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र हेटौंडा उपमहानगरपालिकामा बिहीबार नै असहज परिस्थिति आइपरेको भन्दै शिक्षक आवश्यकताको विज्ञापन रद्द गरिएको जानकारी गराएको छ ।