हेटौंडाः बागमती प्रदेश सरकारलाई कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न प्रतिमान–निमा स्मृति प्रतिष्ठानले एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
प्रतिष्ठानले बागमती प्रदेशका लागि आइसोलेसन गाउन २४ सय थान, फेस शिल्ड २३ सय ३२ थान, मास्क ८४ सय प्याकेट, डिस्पोजेबल एन–९५ मास्क १८ सय थान, प्रोटेक्टिभ फेस शिल्ड १८ सय ९० थान, डिजिटल थर्मोमिटर २० थान, पीपीइ ५५६ थान, इमर्जेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स १ लाख थान, केएन–९५ मास्क १५ हजार ३ सय ६० थान हस्तान्तरण गरेको हो ।
बागमती प्रदेशसँगै सातै प्रदेशमा ८ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले बताउनुभयो । अन्तराष्ट्रिय प्रोजेक्ट होपको सहयोगमा स्वास्थ्य सामग्री प्रतिष्ठानले बिहीबार बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । यसअघि कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
प्राप्त सामग्रीलाई प्रदेशका १३ जिल्लामा आवश्यकताअनुसार तुरुन्त वितरण गर्ने मुख्यमन्त्री शाक्यले बताउनुभयो । सामग्रीको दुरुपयोग नहुने प्रतिबद्धता गर्दै मुख्यमन्त्री शाक्यले सबै सामग्रीको सही सदुपयोग हुने र अभिलेख राखिने बताउनुभयो ।
मुख्यमन्त्री शाक्यले नेपालको स्वाथ्य क्षेत्र अझै पनि सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै सरकारी र निजी क्षेत्र मिलेर काम गर्दा सरकारलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । कोभिड–१९ सरकारले मात्र लडेर परास्त गर्न नसक्ने उहाँको भनाई छ । कोभिड–१९ लगायत अन्य स्वास्थ्य सेवाको क्षेत्रमा गम्भीर बन्नका लागि प्रदेशमा अलग्गै स्वास्थ्य मन्त्रालय खडा गरेको मुख्यमन्त्री शाक्यले बताउनुभयो ।
कोभिड नियन्त्रण गर्न केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारले सामूहिक प्रयास गर्नुपर्ने उहाँको भनाई छ । तीन तहको सरकारले कोभिड नियन्त्रण र रोकथाम गर्न छुट्टाछुट्टै काम गर्दा प्रभावकारी नदेखिने भएकाले सामूहिक प्रयास गर्न प्रदेश सरकारले समन्वयको काम गर्ने मुख्यमन्त्री शाक्यले बताउनुभयो ।