तस्बिरः गुगल ।

हेटौंडाः बागमती प्रदेशका करिब ३३ लाख नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा १८ वर्षमाथिका ३२ लाख ९४ हजार ६ सय ४७ जनाले खोप लगाउन बाँकी छ ।

यस्तै ६ लाख ६९ हजार ८ सय ६५ जनाले हालसम्म कुनै पनि खोप लगाएका छैनन् । हालसम्म बागमती प्रदेशमा १८ लाख ६३ हजार ८ सय ५८ जनाले कोभिडको पूरा खोप लगाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईंले बताउनुभयो ।

बागमती प्रदेशमा २५ लाख ३३ हजार ७ सय २३ जनाले बिहीबारसम्म कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । बामगती प्रदेशमा कोभिडविरुद्धको भारतीय खोप कोभिशिल्ड, चाइनिज खोप भेरोसेल र जनसन खोप उनीहरुलाई लगाइएको हो । बागमती प्रदेशका १३ जिल्लाका ५ लाख ६१ हजार ८ सय ४६ जनाले कोभिशिल्डको पहिलो डोज खोप लगाएका छन् । उनीहरुमध्ये बिहीबारसम्म ३ लाख ४७ हजार ५० जनाले कोभिशिल्डको दोस्रो डोज खोप पाएका छन् । यस्तै चिनियाँ खोप भेरोसेलको पहिलो डोज प्रदेशका १६ लाख २४ हजार ४ सय ६३ जनाले पाएका छन् । उनीहरुमध्ये ११ लाख ६९ हजार ३ सय ९४ जनाले दोस्रो डोज लगाइसकेका छन् । यस्तै बागमती प्रदेशका ३ लाख ४७ हजार ४ सय १६ जनाले जनसन खोप लगाएका छन् ।

बागमती प्रदेशमा बिहीबार ५ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशमा अहिले १२ हजार १ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् । ८६ जना भेन्टिलेटरमा, २ सय ५७ जना आईसीयूमा, ४ सय ८१ जना एचडीयूमा, १ सय ३६ जना जनरल आइसोलसन र ९ सय ५७ जना संस्थागत आइसोलनमा उपचार गराइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा १४ हजार कोरोनाका सक्रिय संक्रमित रहका छन् ।