हेटौंडाः नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा वडा तहको अधिवेशनको समीक्षा गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेमा वडातहका निर्वाचित कांग्रेस प्रतिनिधिबीच निर्वाचन तथा केही समयअघि वितरण गरिएको क्रियाशील सदस्यको विषयमा समीक्षा गरिएको हो ।

भदौ २० गते भएको वडा तहको अधिवेशनको परिणाम सन्तोषजनक नदेखिएको भन्दै सो अवस्थाले नेपाली कांग्रेसलाई एकढिक्का भएर अघि बढ्न थप चुनौती दिएको बताइएको छ । नेपाली कांग्रेस वडा सभापति आइतसिंह तितुङको सभाध्यक्षतामा भएको बैठकमा कांग्रेसका प्रदेश प्रतिनिधि मीरा गौतम, मानबहादुर थिङ, पवन खड्का, गीता लामिछाने, हरिकृष्ण बिष्ट, जीवनसिंह वाइबा, माधव गौतम, लालचन्द्र प्रजाको उपस्थिति रहेको थियो ।

वडा अधिवेशनमा नेपाली कांग्रेसका जिल्ला सल्लाहकार भरत पराजुलीले हार ब्यहोर्नु परेको घटना दुःखद् भएको बैठकका सहभागीले बताए । लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशील रहेर निष्ठापूर्वक राजनीतिमा लागेका अग्रज नेता पराजुलीको हारमा सबै दुःखित भएको सहभागीहरुको धारणा छ ।
क्रियाशील सदस्यता वितरण गर्ने क्रममा भएका कमीकमजोरीका कारण पराजुलीले हार ब्यहोर्नु परेको भन्दै बैठकले क्रियाशील सदस्यता वितरण गर्दा सावधानी अपनाउन र व्यापक छलफल तथा बहसपछि मात्रै वितरण गर्न सुझाएको छ ।

बैठकमा कांग्रेसका वडा सचिव रोहित थिङ, कोषाध्यक्ष शब्दकुमार गौतम, सदस्य जुजुमान बनकरिया, बलराम खड्का, दिनेश चेपाङ, प्रभाकर गौतम, अर्जुन थापा, राधाकृष्ण सिम्खडालगायतको पनि उपस्थिति थियो ।