हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला अदालत मकवानपुरको विभिन्न मितिको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत हेटौडाको २०७१ भदौ १८ गतेको फैसलाअनुसार चोरी मुद्दामा ३ वर्ष ८ महिना २३ दिन कैद भुक्तान गर्न बाँकी मकवानपुरको साविक छतिवन गाविस–४ बस्ने ३१ वर्षीय रामबहादुर घलानलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरको गत असोज १९ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ११ महिना १५ दिन कैद भुक्तान गर्न बाँकी जिल्ला बकैया गाउँपालिका–४ कै २४ वर्षीय देवेन्द्रबहादुर टुप्पालाई प्रहरी चौकी हात्तीसुँडेबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको छ ।
घलान र टुप्पा दुबैलाई बकैया–४ बाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबैजजनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत मकवानपुर पठाइएकोमा अदालतले कैद भुक्तानका लागि भीमफेदी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो ।
यस्तै, जिल्ला अदालत मकवानपुरको गत असोज २० गतेको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद र एक हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटौंडा– ८ बस्ने ५९ वर्षीय श्रीराम चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोली चौलागाईंलाई बुधबार हेटौंडा–८ बाट पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालत मकवानपुर पठाइएकोमा उक्त कैद भुक्तानका लागि भीमफेदी कारागार पठाइएको प्रहरी निरीक्षक दासले जानकारी दिनुभयो ।