महामारीबीच नेपाली महिलाको सबैभन्दा ठूलो पर्व हरितालिका तीज दुई बर्षदेखि दिल खुला गरेर मनाउन पाएको अवस्था छैन । अवस्था सामान्य भइदिएको भए चेलीबेटीले धुमधामसँग मनाइरहेका हुनेथिए । पछिल्ला बर्षहरुमा नेपाली मौलिक चाडपर्वहरुमा पश्चिमा संस्कृतिको प्रभाव पार्ने प्रयास भएका थिए । तीजजस्तो पवित्र चाडको विशेषता नै मेटाउने गरी मनाउने संस्कृतिको विकास हुँदै गएको थियो । तर कोरोना महामारीले गर्दा दुई बर्षमा यो पर्व घर परिवारमा मात्र सीमित भएको छ । महिना दिनदेखि खानपीन गर्ने गराउने, संगिनी नाचलाई विदेशी गीत र डान्समा रुपान्तरण गर्ने तथा मठमन्दिरमा हुने भेलालाई राजनीतिक आवरण दिनेजस्ता क्रियाकलापले तीजको मौलिकता हराउँदै गएको थियो ।

समुदायमा कोरोना फैलिएपछि भेला, जमघट र भिडभाडजन्य क्रियाकलापमा राज्यका तर्फबाट निषेध नै गरिएको छ । पछिल्लो समय केही खुकुलो भए पनि महामारीको डर यथावत छ । आफ्ना सांस्कृतिक पर्वहरु मनाउँदा व्यक्ति स्वयम् जिम्मेवार बन्नुपर्ने हुन्छ । समूहमा रमाउने चेलीहरुलाई कोरोनाले घरभित्रै सीमित बनाइदिएको छ । तर पनि महिलाहरुले तीजलाई सकेसम्म उल्लासमय बनाउने गर्दछन् । पौराणिक मान्यता जे भए पनि तीज पर्व नेपाली मौलिकताको चाड हो । चेलीबेटी र माइती पक्षबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने र लामो समयसम्म छुट्टिएका दिदीबहिनीबीच भेटघाट गराउने माध्यम बन्ने गरेको छ । पारिवारिक आत्मियताले ओतप्रोत तीज पर्वलाई सामाजिक मूल्य मान्यताको धरोहरका रुपमा लिने गरिन्छ ।

कोरोनाका कारण व्यक्तिगत दूरी कायम राख्नु जरुरी छ । तीज पर्वमा दूरी कायम गर्नु भनेको उल्लासमाथिको प्रहार हो । कोरोनाले मानिसको जीवनशैलीमात्र हैन कि, परम्परालाई समेत नयाँ ढंगबाट परिभाषित गर्नुपर्ने अवस्थामा पु¥याएको छ । रितीरिवाजको बनौट र मनाउने पद्दतिमा परिमार्जन नगर्ने हो भने कोरोनाजस्ता महामारीबाट मानव जीवन प्रभावित भइरहने देखिन्छ । भारतमा भएको कुुम्भ मेलाले दक्षिण एसियाली देशमा कोरोनाको दोस्रो लहर फैलिएको तथ्यलाई हेर्दा चाडपर्वलाई समयानुकूल बनाउन आवश्यक छ । सामाजिक परम्परा र मूल्य मान्यता कायम राख्ने तर विधिमा सुधार जरुरी छ । अघिल्ला बर्षहरुभन्दा पछिल्ला दुई बर्षमा चाडपर्व फरक ढंगबाट मनाउन सकिन्छ भन्ने उदाहरण बनेको छ ।

हुँदा खाने र हुनेखानेबीचको विभेद नेपाली मौलिक पर्वहरुमा पर्ने गरेको छ । चाडपर्वको महत्व सबै नागरिकका लागि समान हुन्छन् । तर सम्पन्न र गरिब परिवारले मनाउने शैलीमा फरक पर्दा हिनभावको विकास भई चाडपर्वप्रति वितृष्णा बढ्न र धर्मान्तरणको जोखिम बढी हुन्छ । पर्व मनाउँदा देखासेकीभन्दा सांस्कृतिक मान्यतालाई कायम राख्न सक्नु आजको चुनौती हो । कोरोना महामारीले खुलेर यस्ता पर्व मनाउन नसक्ने अवस्थाले सबै परिवारमा एकरुपता देखिएको छ । कसैको घरभित्र जसरी मनाए पनि देखावटी प्रचलन रोकिएको छ । संस्कृतिप्रतिको विश्वास कायम राख्न चाडपर्व मनाउने तौरतरिकामा पनि परिमार्जन आवश्यक छ । समुदायबीचको सद्भावपूर्ण सहभागिता नै पर्वहरुको मौलिक विशेषता हुनुपर्दछ । हरितालिका तीज यही विशेषता बोक्न सफल होस्, नेपाली महिलाहरुलाई शुभकामना ।