अभ्यन्तर कथासङ्ग्रह नारीवादी लेखक अप्सरा तिम्सिनाको किनाराका आवाज कविता सङ्ग्रहपछिको दोस्रो कृति हो । वि. सं. २०३० साल कार्तिक २८ गते ओखलढुंगामा जन्मिएकी तिम्सिना आमा जसोदा तिम्सिना र बुबा गजाधर तिम्सिनाका एक मात्र छोरी हुन् । पचासको दशकदेखि साहित्य क्षेत्रमा प्रवेश गरेकी तिम्सिनाले २०६९ सालमा हेटौंडामा नारी साहित्यकारहरुको साझा संस्था आँचल साहित्य कला पुञ्जको स्थापनामा विशेष भूमिका निर्वाह गरी संस्थापक उपाध्यक्षसमेत भएर काम गरेकी थिइन् । आफ्नो जीवनको सक्रिय अवस्थामा नै २०७६ साल साउन १२ गते उनको असमायिक निधन भएको हो ।

सूर्योदय तिम्सिना र चन्दा तिम्सिना प्रकाशक रहेको यस अभ्यन्तर कथासंग्रह २०७६ वैशाखमा प्रकाशित भएको हो । नेपाली बुक्स पब्लिकेशनले वितरणको जिम्मा लिएको यस पुस्तकको क्ष्क्द्यल् नम्बर ९७८९९३६०५९०२–२ हुनुका साथै मूल्य रु. २५० समेत तोकिएको छ । १५० पृष्ठसंख्या रहेको पुस्तकको पहिलो संस्करण हाल बजारमा पाइन्छ ।

रजनी पौडेल

समाजमा भएका हिंसा, पीडा, दमन र उत्पीडन सहेर बाँच्न विवश भएका निरीह महिलाहरुको व्यथालाई जस्ताको त्यस्तै टिपेर छर्लङ उतार्न सक्ने खुबी भएकी सामाजिक कथाकार हुन्, अप्सरा तिम्सिना । यो उनको किनाराका आवाज पछिको दोस्रो कृति हो । यो सम्पूर्ण रुपले महिला र बालबालिकाका पीडा र कुण्ठा, उनीहरुले भोग्नु परेका सामाजिक, घरेलु, लैंगिक र जातिगत हिंसा लगायतका विषयसँग सम्बन्धित छ । विविध शीर्षक र विषयमा आधारित रहेर सोह्रवटा कथाहरु संकलित भएर ‘अभ्यान्तर’ कथासङ्ग्रहले पूर्णरुप पाएको छ ।

फरक शीर्षकमा रहेका प्रत्येक कथाका पात्र र परिवेश फरक भए पनि कथानक र उद्देश्य उस्तैउस्तै देखिन्छन् । यस कृतिअन्तर्गत संकलित कथाहरुमध्ये ‘धरा’ मा छोरी जन्माएकै कारण धराले परिवारबाट तिरस्कृत हुनुपरेको कुरालाई देखाइएको छ । ‘प्रतिज्ञा’ मा अभिभावक र छोराछोरीबीचको असमझदारीका कारण उत्पन्न हुनगएको समस्यालाई लेखिएको छ । ‘पुनर्जन्म’ मा ‘पागल वेश्याको’ संज्ञा पाएर सडक जीवन गुजारीरहेकी गर्भवती आमालाई मानवसेवा आश्रमले पुनर्जन्म दिएको कथा छ । ‘एघार छपन्न’ मा एउटी नारीले परिवारको खोजमा आफैंलाई बिर्सिएको कथा छ । ‘युनेश’ मा लागुपदार्थ दुव्र्यसनीमा फसेर पुनर्जन्म पाएको युवाको कथा छ । ‘प्रोत्साहन’ मा शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझ्न नसक्दा विद्यार्थीमा उत्पन्न भएको वितृष्णाको कथा छ ।

‘रुपान्तरण’ मा ठक्कर खाएर लडेपछि अझ मजबुत भएर उठ्नुपर्छ भन्ने साहसी नारीको कथा छ । ‘हराएको छोरो’ मा राजनीतिक द्वन्द्वले दिएको पीडा र घाउ हालसम्म बल्झिरहेको घटनालाई देखाइएको छ । ‘दलन’ मा ठूला भनाउँदाहरुबाट साना एवम् निमुखाहरु हेपिइरहेको वस्तुस्थितिलाई केलाइएको छ । ‘टिप्लीमास्टर’ मा कुशल अभिभावकत्वको अभावमा सन्तान कुबाटोमा लागेको दुखान्त कथा छ । ‘हजुरआमा कथा राम्रो लागेन’ मा बालविवाह गरेर वैंशमा फुल्न नपाउँदै झरेकी विधुवा आमाको कथा छ । ‘अन्तरकथा’ मा वेरोजगारीको लाठीले बजारेपछि विदेश पलायन हुन बाध्य भएको युवाको दर्दनाक कथा छ । ‘दिदी डिपो लगाइदिनोस् न’ मा नारीलाई केवल कामवासनाको साधनका रुपमा हेर्ने पुरुषको निकृष्ट सोचप्रति व्यङ्ग्य गरिएको छ । ‘अपहरणपछि’ मा अपहरणमा परेर बाँच्न सफल बालकको कथा समेटिएको छ । ‘संयोग’ मा बाँच्नकै लागि तन बेच्न बाध्य भएकी दिदी र पैसाको उन्मादले अन्धो भएको भाइबीच संयोगले भेट भएको प्रसङ्गलाई लेखिएको छ । र अन्तिम कथा ‘अस्मिताको मूल्य’ मा फक्रिन नपाउँदै कोपिला चुँडिएको हृदयविदारक कथा छ ।

सानो आकारमा तयार पारिएको यस कथा सङ्ग्रहमा सरल र सहज भाषा शैलीको लेखन रहेको छ । कतैकतै पात्र र उसको कार्य झल्किने गरी कोड भाषा प्रयोग गरिनु कथाकारको उच्च शिल्प हो, भन्ने लाग्दछ । सामाजिक कथावस्तुलाई टपक्कै टिपिनु अनि त्यसमा महिला र बालबालिकाको सामाजिक अवस्थिति, हैसियत लगायतका दुःखदायी दृश्यचित्रहरुलाई शब्दमा घोलेर पुरुषप्रधान समाजको अगाडि छताछुल्ल पारिदिनु यस पुस्तकको महत्वपूर्ण रोचक पक्ष हो । फक्रिँदो यौवनमा माहुरी झैं रस चुस्न धुरिने र रस सकिएपछि चपाएर फालेको उखुको छोक्रासँग महिलालाई तुलना गर्नु र तिरस्कार गर्नु आफ्नो महान पुरुषार्थ ठान्ने पुरुषको आडम्बरीपनको कटु आलोचना यस पुस्तकको सार हो ।

पहिचान पश्चात भु्रण हत्या गरिनु, विशेषतः पुरुषले निम्त्याएको समस्या हो । महिलाका लागि सामाजिक सुरक्षाको र इज्जतको पासो फालेर आफू सामाजिक सुरक्षाको ठेकेदार ठान्ने पुरुषबाट नै महिला बलात्कृत हुन्छे, कोपिलैमा निमोठिन पुग्छे, जुठो बन्न पुग्छे, अस्मिता लुटिएकी सडकछाप हुन्छे, तर महिलालाई जुठो बनाउने त्यो पुरुष कहिल्यै जुठो बन्दैन, उसको इज्जतमाथि दाग लाग्दैन । यी र यस्ता जटिल समस्याहरुको उठान .यस कृतिले गरेको छ ।

बालबालिकाको हकहित र बालमनोविज्ञानको स्पष्ट चित्रण यस कृतिमा पाइन्छ । बालबालिका र अभिभावकबीच बढ्दो असमझदारीले जुनसुकै कुकृत्य गर्न पनि तत्पर रहने बालबालिकाको मनस्थितिलाई बुझेर कुशल अभिभावकत्वको जिम्मेवारी वहन गर्न समेत आग्रह गरिएको छ । छोराछोरीमा देखा पर्ने परिवर्तनलाई सहज रुपमा लिएर उनीहरुसँग मित्रवत व्यवहार गर्न सक्यौं भने समस्याको पहिचान र समाधानका लागि सहज हुने कुरालाई दर्शाइएको छ । समाजमा वर्गीय विभेदको शिकार बनिरहेका निम्न वर्गीय मानिसको पीडालाई पनि टिपिएको छ । द्वन्दकालिन समयले बनाएको घाउमा अझै खाटा बसिनसकेको पीडा आफ्ना सन्तान फर्केर आउने आशमा बा“चिरहेका वृद्ध आमाबुबाको नओभाएका आँखाले बताइरहेको छ ।

समाज पीडित मानिसको जमातले बनेको एउटा संगठन हो भन्न सकिने ठाउँ यो कथाले राखेको छ । कतै श्रीमान्ले दिएको पीडा, कतै छोरो हराएको पीडा, कतै अभिभावक गुमाएको पीडा, कतै अपहरणमा परेको कुरा, कतै इज्जत हराएको अनि कतै अस्मिता लुटिएको । यस्तै पीडितहरुको संगठनमा भर्ना हुन आइपुगेको छ । विज्ञान पाख्रिन आफ्नै अन्तरकथाको पोको बोकेर अनि साथमा मातृवात्सल्यबाट बञ्चित हुन पुगेको छोरो लिएर । यहँ“ भने कथाले एक फट्को मारेको छ । पुरुषप्रधान समाजमा पीडित पुरुषको बाहुल्यता पनि उत्तिकै छ । कठिन परिस्थितिका बाबजुद पनि परिवारको खोजखबरका लागि गरेको अर्पणाको साहसिक कार्य, जीवनलाई परिवर्तन गरेर पृथक तरिकाले बाँच्न सिकेकी रुपान्तरणकी पारु, कालकोठरीको जीवन भुक्तान गरेर नातिनीसँग रमाइरहेकी रानीकी हजुर आमाले रानीलाई साहसीपूर्ण जीवन जिउन हौसाइरहेको तथ्यले अवश्य पनि नारीको साहसिकतालाई प्रष्ट्याइरहेको छ ।

समाजका अन्तरकुन्तर चहारेर विकृति, विसङ्गति, कुसंस्कार र कुकृत्यदेखि कुलत र दुव्र्यसनीसम्मका विषयहरुलाई समेटेर, महिला, बालबालिका, वृद्ध र अशक्तदेखि युवासम्मका भावनाहरुलाई एकै ठाउँमा अटाएर, ठूलादेखि सानासम्मका समस्याहरुलाई पहिल्याएर एउटै भूगोलभित्र अटाउन सकेको हुनाले वाङ्मयको क्षेत्रमा यस कृतिले एक इटा थप्ने काम पक्कै गरेको छ ।

विविध विषयवस्तु समेटिएको हुनाले ती विषयवस्तुभित्र समस्या पनि विविध नै छन् । मूलतः नारी केन्द्रित भएर नारीकै जीवन भोगाइका आरोह अवरोहमा रहेर कलम चलेको देखिन्छ । नारीलाई कमजोर पात्रका रुपमा मात्र प्रस्तुत गर्न खोज्नु कमजोर पक्ष देखिन्छ भने नारी नै सृष्टिको मुहान हो, एउटी नारीले घर व्यवहार छोडिदिँदा पुरुषको संसार उजाडिन्छ भन्ने संकेतले पुरुषको जीवनमा नारीको महत्वलाई प्रष्ट्याएको छ । कथामा नवीन शिल्प बुन्ने राम्रो प्रयास छ । तर उपल्लो दर्जासम्म पुगेर देश हाकिरहेकी नारीको दृष्टान्त दिन चुक्नु कमजोर पक्ष देखिन्छ । कथाको चिन्तन फैलावटमा भन्दा गहिराइमा पुग्न सकेको भए हुन्थ्यो भन्ने लागिरह्यो । कथाकार अप्सरा तिम्सिनाको भौतिक शरीर नरहेपनि उनको वैचारिक उद्देश्य यस पुस्तकले पूरा गर्न सकोस् शुभकामना ।