फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा भौतिक उपस्थितिमा पठनपाठन हुन अझै एक हप्ता लाग्ने भएको छ । उपमहानगरले सोमबार विद्यालय सञ्चालन कार्यढाँचा पेश गर्न विज्ञप्ति जारी गरेको छ । शिक्षा विकास तथा समन्वय इकाईले पनि पालिकाहरुमा विद्यालय सञ्चालन कार्यढाँचा पेश गर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उपमहानगरले पनि विज्ञप्ति जारी गर्दै सातदिन भित्र कार्यढाँचा पेश गर्न आग्रह गरिएको र इकाईले पनि पालिकाकाहरुले कार्यढाँचा पेश गर्न केही समय लाग्ने जनाएको छ । जसअनुसार विद्यालयहरुमा शिक्षकहरुको उपस्थितिसहित पठनपाठन कसरी सञ्चालन गरिने विषयमा छलफल भए पनि पठनपाठन भने नहुने बताउनुभयो । अहिले पठनपाठन सञ्चालन गर्नसक्ने आधार भए पनि विद्यालयले नीति निर्माण नगरेको उहाँले बताउनुभयो ।

भौतिक उपस्थितिमा पठनपाठन के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने कुरामा कार्यढाँचा पेश गर्न विद्यालयहरुलाई आग्रह गरिएको पौडेलले बताउनुभयो । हेटौंडा उमहानगरभित्र ७७ वटा सामुदायिक र ४६ वटा संस्थागत गरी १ सय २३ वटा विद्यालय रहेका छन् । कोरोना भाइरस संक्रमण जोखिमको कारण विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिसहितको पठनपठान लामो समयदेखि अवरुद्ध रहेको थियो ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले विद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न गठन गरेको कार्यदलले कोभिड संक्रमण जोखिमका आधारमा मकवानपुरका पालिकालाई ४ क्षेत्रमा बाँडेको थियो । आइतबारदेखि न्यून जोखिममा परेका पालिकाका विद्यालयमात्र खुल्नसक्ने सम्भावना रहेको पौडेलले बताउनुभयो । तर पूर्णरुपमा विद्यालय सञ्चालन गरी भौतिक उपस्थितिमा पठनपाठन हुन समय लाग्ने उहाँले बताउनुभयो । बिहीबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्थानीय तहले निगरानी गर्नेगरी विद्यालय र अभिभावकको सहमतिमा आइतबारबाट विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको थियो ।

आचारसंहिता निर्माण गरी सरोकारवालासहित विद्यालय व्यवस्थापन समितिको बैठक बसेर कार्यढाँचा पेश गर्न आग्रह गरिएको हो । स्वास्थ्य मन्त्रालयले अझै शैक्षिक क्षेत्रलाई सम्वेदनशील क्षेत्रका रुपमा लिएकाले नीति नियम निर्माणसहित पठनपाठन सुरु गर्न समय लाग्ने पौडेलले बताउनुभयो ।