सुरेश श्रेष्ठ

व्यक्तिमा पठन अभ्यास कमजोर हुँदै गएको सन्दर्भमा पठन संस्कृतिको विकासका लागि मकवानपुरमा हाम्रो एक समूहले पुस्तकालय अभियान सञ्चालन गरेको अढाई महिना भएको छ । जेठ २९ गते पुस्तकालय अभियान समूहले हेटौंडा–७, नागस्वतीमा पहिलो पुस्तकालय स्थापना गरेयता मकवानपुर जिल्लामा ६ वटा र छिमेकी बारा जिल्लाको निजगढ नगरपालिका–६ मा एउटा गरी ७ वटा पुस्तकालय स्थापना गरिसकेका छौं । सक्रिय समुदायको खोजी गरेर उनीहरुलाई प्रेरित गर्ने र स्थानीय सरकारलाई पुस्तकालय सञ्चालनमा आवश्यक सहयोग गर्न प्रतिवद्ध हुन पनि अभियानले प्रेरित गरिरहेको छ ।

पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनाका लागि ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्दै आएका छौं । पुस्तकालय स्थापना गर्न चाहने समुदायलाई १० जनाको समूह बनाएर सुरुवातमा ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्ने गरिएको छ । एकजनाले एक बर्षमा एक पटक ५ हजार रुपैयाँ सहयोग गर्ने गरी सुरुवात गरिएको अभियानमा सहयोगीहरु स्वतःस्फूर्त रुपमा जोडिँदै अभियानको सदस्य भएका छन् । सामाजिक सेवाको दायित्व समेत बुझाउँदै केही लक्षित समूहलाई अभियानका सदस्य साथीहरुले व्यक्तिगत या संस्थागत रुपमा नै सहयोगका लागि पहल समेत गर्ने गरिएको छ । पुस्तकालय अभियानमा स्वतःस्फूर्त रुपमा आकर्षित हुने सहयोगी र लक्षित समूहलाई अभियानका साथीहरुले राखेको प्रस्ताव सहजै र सहर्ष स्वीकार्नुले अभियान समूह अझ प्रेरित र जिम्मेवार बन्दै गएको छ ।

आज १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मकवानपुर जिल्लाका ५ स्थानमा एकैदिन पुस्तकालय उद्घाटन गर्न गइरहेका छौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको १ र १८ नम्बर वडासँगै बकैया, मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा एक एक वटा पुस्तकालय स्थापना हुँदैछ । आज ५ वटा पुस्तकालय उद्घाटन भएसँगै पुस्तकालय अभियान समूहको अग्रसरतामा १२ वटा पुस्तकालय स्थापना हुनेछ । सुरुमा हामी हेटौंडा उपमहानगरका सबै वडामा एउटा एउटा मात्रै भए पनि पुस्तकालय स्थापना गर्ने योजनामा थियौं । तर, पहिलो पुस्तकालय हेटौंडा–७ र दोस्रो पुस्तकालय हेटौंडा–६ मा स्थापना गरेसँगै जिल्लाका अन्य पालिकाबाट पनि चिनेजानेका साथीभाईहरुबाट आआफ्नो पालिकामा पुस्तकालय स्थापना गर्नुपर्ने मागसँगै पुस्तकालय स्थापनामा सहकार्य गर्ने, साथ दिने प्रतिवद्धता प्राप्त भएपछि हामीले जिल्लाका सबै पालिकामा पुस्तकालय स्थापना गर्ने योजना बनायौं ।

पुस्तकालय स्थापनाको अभियान जिल्लाभित्र मात्रै नभएर जिल्लाबाहिर पनि फैलिएको छ । असार २६ गते छिमेकी बारा जिल्लाको निजगढ नगरपालिका–६ मा पनि हामीले पुस्तकालय स्थापना गर्न सफल भयौं । पुस्तकालय स्थापनाको अभियान रौतहट जिल्लामा पनि विस्तार हुँदैछ । यही भदौ २२ गते मोतिराम जयन्तीका दिन पनि हाम्रो अभियान समूहले पुस्तक सहयोग गरेर रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा जनजागृति पुस्तकालयको उद्घाटन गर्दैछौं । मकवानपुरभन्दा बाहिरका जिल्लामा हामीले सहयोग गरेको समूहले नै जिल्लाभर अभियानकै रुपमा पुस्तकालय स्थापना गर्ने अपेक्षा लिएका छौं ।

पुस्तकालय स्थापनाको जिम्मेवारी स्थानीय सरकारको भए पनि सरकारको ध्यान नपुगेका कारण हाम्रो अभियान समूहले स्थानीय सरकारलाई झक्झक्याउने काम गरेको छ । हामीले झक्झक्याउँदा बिउँझिने संकेत स्थानीय सरकारले देखाउनु पनि हाम्रा लागि उर्जाको विषय बनेको छ । मकवानपुर जिल्लाका सबै पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, स्थानीय सामाजिक अगुवाले पुस्तकालयको महत्वलाई बुझेर पुस्तकालयको प्रयोग र उचित विकासमा आवश्यक साथ, सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।

हामीले एउटा वडामा ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेर पुस्तकालय उद्घाटन गर्दै गर्दा पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षले पुस्तकालयका लागि एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका छन् । यसले पुस्तकालयको व्यवस्थापनमा ध्यान दिने समुदायका लागि असाध्यै खुसीको विषय हो । स्थापित पुस्तकालयको नियमित सञ्चालन र व्यवस्थापनमा समुदायले ध्यान दिए आर्थिक पाटो समस्या नहुने देखिएको छ । मोवाइल, कम्प्युटर, ल्यापटप, टिभि जस्ता सामग्रीको प्रयोग कुलतको रुपमा विकसित भइरहेको वर्तमान सन्दर्भमा पुस्तकको अध्ययन गर्नु ज्ञानवद्र्धक र स्वास्थ्यवद्र्धक हुने बुझाई व्यक्तिमा बढ्दै जानुले पुस्तकालयको प्रयोग बढ्ने अपेक्षा गरेका छौं ।
पुस्तकालय स्थापनाको प्रमुख उद्देश्य जुनसुकै उमेर समूहका व्यक्तिमा पठन संस्कृतिको विकास गर्नु हो । आमरुपमा विद्यालय वा विश्वविद्यालय तहमा औपचारिक शिक्षा हासिल गर्ने सन्दर्भमा मात्रै पढ्ने हो भन्ने बुझाई हाम्रो समाजमा छ । तर, हरेक दिन हरेक व्यक्तिले पढ्नुपर्छ भन्ने मान्यताको विकास गर्दै पठन संस्कृतिको विकास गर्नु आवश्यक छ । पढ्नु या अध्ययन गर्नुलाई कुनै पनि विषयका बारेमा ज्ञान आर्जन गर्ने, आर्जित ज्ञानका आधारमा असल काम गर्ने व्यक्तिको समाज बनाउनु पुस्तकालय अभियानको प्रमुख उद्देश्य हो ।

पुस्तकालयमा सजिएका पुस्तकका ज्ञान आर्जन गर्ने मानिसले आफ्नो जीवनलाई सफलताको बाटोमा डोर्‍याउन सफल भएका छन् । यसर्थ हामीले पुस्तकालय अभियानलाई आजको भोलि नै हाम्रो समाजको परिवर्तनको अपेक्षा गरेर सुरुवात गरेको काम होइन । हामी मकवानपुरका नागरिकलाई शिक्षित, सूचित र सचेत बनाउँदै लैजानका लागि पुस्तकालय स्थापना गरिरहेका छौं । हेटौंडा उपमहानगरभित्र सञ्चालन गर्ने भनिएको अभियान छोटो अवधिमै जिल्ला बाहिर समेत जाँदैछ । देशभरबाट अभियानका बारेमा उत्सुकता र चासोसँगै चर्चाको विषय बनेको छ । अभियानले सकारात्मक दिशा लिँदै गर्दा यसको नियमितता र थप प्रभावकारी कसरी बनाउने भन्ने चिन्ता हामीमा छ ।

हामीले पुस्तकालय स्थापना गर्ने मात्रै नभई पुस्तकालयको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्नेतर्फ पनि ध्यान दिइरहेका छौं । हाम्रो अभियानमा पुस्तकालय विज्ञान विषयमै स्नात्तकोत्तर तह उपाधी हासिल गर्नुभएका साथीहरु पनि हुनुहुन्छ । उहाँहरुको सहयोगमा हामी अभियानमार्फत स्थापित पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारी र पुस्तकालय व्यवस्थापकका लागि आवश्यक अभिमुखीकरण तथा प्रशिक्षणका कार्यक्रम, कार्यशाला समेत आयोजना गर्नेछौं । पुस्तकालय अभियानको दायरा अझ फराकिलो बनाउँदै पठन संस्कृतिको विकासमा सबैको साथ, सहयोग, सल्लाह, सुझाव प्राप्त हुने अपेक्षा हामीले राखेका छौं । आफ्नो नियमित पेशा, व्यवसायसँगै सामाजिक सेवाको क्षेत्रमा हामीले सुरु गरेको अभियान आम नागरिकको लाभका लागि उपयोगी सावित हुने आशामा पुस्तकालय अभियान हाम्रा लागि अवसर र चुनौति दुबै हुनेछ ।