हेटौंडाः पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा आज मंगलबार एकैदिन मकवानपुर जिल्लामा ५ वटा पुस्तकालय उद्घाटन हुँदैछ । पुस्तकालय अभियान समूहले यसअघि मकवानपुरमा ६ वटा र बारा जिल्लामा एउटा पुस्तकालय उद्घाटन गरिसकेको छ ।

१४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर पुस्तकालय अभियान समूहले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा नवज्योति पुस्तकालय, हेटौंडा–१८ मा दोभानचौर सामुदायिक पुस्तकालय, बकैया गाउँपालिका–७, हात्तिचरणमा हात्तिचरण सामुदायिक पुस्तकालय, मकवानपुरगढी गाउँपालिका–५, धादिङमा हाम्रो सामुदायिक पुस्तकालय र भीमफेदी गाउँपालिका–४, निबुवाटारमा ज्ञानज्योति पुस्तकालय उद्घाटन गर्न लागिएको पुस्तकालय अभियान समूहका सदस्य विनोद दाहालले जानकारी दिनुभएको छ ।

पुस्तकालय स्थापनाका लागि संस्थागत र व्यक्तिगत सहयोग प्राप्त भइरहेको सदस्य दाहालको भनाइ छ । संस्थागत रुपमा जेसीआई हेटौंडा लेडीको सहयोगमा हेटौंडा–१, चौकीटोलमा नवज्योति पुस्तकालय स्थापना हुन लागेको हो । समुदायको सक्रियतामा पुस्तकालय स्थापना गर्न पुस्तकालय अभियान समूहले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्ने गरेको छ । अभियानअन्तर्गत स्थापित पुस्तकालयहरुको व्यवस्थित सञ्चालन तथा व्यवस्थापनमा पनि अभियानले आवश्यक सहजीकरण गर्ने योजना बनाएको अभियानका सदस्य किरण अधिकारीले बताउनुभएको छ ।