गाईजात्रा विशेषतः नेवारी समुदायमा मनाइने परम्परागत साँस्कृतिक पर्व हो । यसको इतिहास निकै पुरानो रहेको भेट्टाउन सकिन्छ । इतिहासमा लेखिए अनुसार राजा प्रताप मल्लको पालादेखि सुरुभएको भन्ने रहेको छ भने कतैकतै लिच्छवी कालदेखि नै सुरु भएको भन्ने पनि रहेको छ । गोपालवंश शासन कालमा भने यस पर्वलाई सायात भन्ने गरेको पाइएको छ । जसमा ‘सा’ भन्नाले गाई र ‘यात’ भन्नाले जात्रा भन्ने बुझाइएको छ । तसर्थ ‘गाईजात्रा’ पर्व गोपाल वंशदेखि नै प्रचलनमा रहेको पाउन सकिन्छ ।
लिच्छवी कालमा साँढे जुधाएर मनाउने गरिएको यो पर्व प्रताप मल्लको पालादेखि मृतकको आत्मा शान्तिका लागि कामना गर्दै गाईको पूजा गरी बाटो, घाटो, सडकमा गाईलाई वा गाई जस्तै स्वरुपमा मान्छेलाई घुमाउने चलनले आजसम्म निरन्तरता पाएको छ । बाजागाजासहित सडकमा निकालिएको गाई वा गाई जस्तै स्वरुप बनाएर निकालिएको मान्छेलाई पूजा आजा गरी फलफूल, भेटी चढाउने साँस्कृतिक परम्परा नेवारी समुदायमा आजका दिनमा निरन्तर छ ।
यसरी गाईजात्राको धार्मिक र साँस्कृतिक परम्परा नेवारी समुदायमा रहे पनि आम नेपाली समुदायमा भने यस पर्वलाई विकृति, विसंगतिको पर्दाफास गर्दै व्यङ्ग्यात्मक प्रहसन कलाका रुपमा प्रस्तुत गर्ने प्रचलनले व्यापकता पाउँदै गएको छ । गाईजात्रामा व्यङ्ग्यात्मक परम्परा भने राणाशासनदेखि नै छिटफुट रुपमा सुरुवात भएको मानिन्छ । विशेषगरी राणा शासन, पञ्चायती व्यवस्थाजस्ता निरंकुश शासन व्यवस्थाको समयमा दमन, उत्पीडन एवम् वाक् स्वतन्त्रता गुमाएर बस्नुपर्दाको पीडालाई बोलेर, लेखेर व्यक्त गरिने चोटिला, पेचिला एवम् तीता अभिव्यक्तिहरुलाई गाईजात्राको समयमा व्यक्त गर्न छुट दिएको हुनाले यस किसिमको प्रस्तुतीले भने अझै मौलाउने अवसर पाइरहेको छ ।
हाल आएर यसलाई साहित्यको एउटा पाटोमा राखिदिनाले देशमा भइरहने राजनीतिक अस्थिरता, सामाजिक कुरीति, भ्रष्टाचार, पदलोलुपता, सरकारको फितलोपना, आम नागरिकले भोग्नु परेको पीडा, उत्कण्ठाहरुलाई गीत, कविता, प्रहसन, व्यङ्ग्यात्मक गद्य लेखन र यस्ता अनेक प्रस्तुतीद्वारा सबै माझ व्यक्त गर्ने गरिएको हुन्छ ।