गाईजात्रालाई शोक र उल्लासको संगम मानिन्छ । यसको प्रचलनकर्ता राजा प्रताप मल्ल हुन् । ६ सय बर्ष पहिले जयस्थिति मल्लको समयमा गाईयात्रा भनिएको यो पर्वलाई जात्राका रुपमा प्रताप मल्लले प्रचलनमा ल्याएको मानिन्छ । यो पर्वको ऐतिहासिक महत्व छ । विशेषगरी नेवार समुदायले आफ्नो घरमा एक बर्षभित्र परिवारको सदस्य मृत्यु भएमा उसको आत्माको चिरशान्तिका लागि गाईलाई सिंगारेर बजार परिक्रमा गराउने गर्दछन् । यसका साथै शोकमा रहेका मानिसहरुलाई सान्त्वना दिन र शोकमा बसेरमात्र हुँदैन भन्दै विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने परम्पराको पनि विकास भएको पाइन्छ । यही क्रममा सामाजिकरुपमा देखिएका खराब पक्षलाई व्यङ्ग्यमार्फत् उदाङ्गो बनाई मानिसलाई मनोरञ्जन दिने चलन छ ।

पञ्चायतकालमा राजा र व्यवस्थाको विरोध गर्न नपाइने कानुनी व्यवस्था थियो । तर व्यवस्था र पञ्चहरुले गरेका खराब पक्षलाई उजागर गर्न सञ्चारका माध्यमहरुले यही गाईजात्रा पर्वको उपयोग गर्ने गरेका थिए । अन्य समयमा व्यवस्थाको बिरोध गरे सञ्चार माध्यमको दर्तासमेत खारेज हुने तथा पत्रकारहरुलाई सजायदेखि दण्डजरिवाना हुने व्यवस्था थियो, तर गाईजात्रामा गरेको बिरोधलाई मनोरञ्जनकै रुपमा लिने गरिन्थ्यो । त्यसैले सञ्चार माध्यमले सोही दिन व्यवस्थाविरुद्धमा आफ्ना अभिव्यक्ति राख्ने गर्दथे । गाईजात्रालाई उत्सवका रुपमा लिने र व्यङ्ग्यबाण प्रहार गर्ने गर्दथे । विशेषगरी राजनीतिलाई नै प्रमुख विषय बनाएर लेख, रचना, सम्पादकीयमार्फत् शासक र व्यवस्थाको विरोध गर्नुपर्ने हुन्थ्यो । तर पछिल्लो समयमा राजनीतिक वातावरण आफैंमा गाईजात्राजस्तै बनाइएको छ ।

गाईजात्राका अवसरमा कलाकारहरुले राजनीति र नेतृत्वप्रति व्यङ्ग्य गर्दै एक हप्तासम्म कार्यक्रम गर्ने परम्परा नै बनेको छ । राजनीतिक बेथिति र नेताहरुका गलत क्रियाकलापमाथि दह्रो प्रहार गर्ने गरिन्छ । तर पनि नेताहरुलाई त्यो व्यङ्ग्य प्रहारलाई सजिलै पचाउने बानी परिरहेको छ । जतिसुकै प्रहार गरे पनि आफ्नो चरित्रमा नेतृत्वले सुधार ल्याउनेतर्फ थोरै पनि चिन्तन गरेको पाइँदैन । गाईजात्रालाई बेथितिको प्रतीकका रुपमा लिँदा आज जहिँतहीँ गाईजात्रामात्र छ । संविधानमाथिको हमलादेखि परम्परामाथिको थिचोमिचो गर्ने काम राजनीतिक नेतृत्वबाटै बढी हुने गरको छ । राज्यको मूल नीति राजनीतिमार्फत् शासन गर्नु पर्नेमा नेताहरुको मनोगत आकांक्षाबाट प्रेरित हुँदा त्यहाँ पनि जात्रा नै हुँदै आएको छ ।

नेताहरुका पछिल्लो व्यवहार र चरित्रले हाँस्य कलाकारहरु छायाँमा परेका छन् । उटपट्याङ कुरा गर्ने, एक अर्कोप्रति आरोप प्रत्यारोप गर्ने र त्यसका लागि प्रयोग हुने शब्दबाट आम नागरिकले मनोरञ्जन भन्दा पनि संस्कारहीन नेतृत्वका रुपमा बुझ्ने गरेका छन् । सुशासनको खडेरी बढ्दै जानु, राष्ट्रियताप्रति नेतृत्व गम्भीर नहुने, सत्ताका लागि जस्तोसुकै निर्णय गर्ने, आफ्ना अडान र मान्यता समयअनुसार परिवर्तन गर्नेजस्ता चरित्रले आम नागरिकले राजनीतिक जात्रा हेर्न बाध्य भएको अवस्था छ । साँस्कृतिकरुपमा गाईजात्रा बर्षको एकदिन आउँछ भने राजनीतिक जात्रा दैनिक हुने गरेको छ । गाईजात्रा पर्वमा परिवार गुमेको सदस्यप्रति जसरी भावुक हुन्छ, त्यसैगरी नेतृत्वले पनि राजनीतिक जात्रा छोडेर जनता र देशप्रति चिन्तित बन्न जरुरी छ ।