कोही कोही मान्छेहरु पहिचान नखुलेका ब्रोइलर कुखुरा जस्तै लाग्छ मलाई । हुँदा हुँदा दलमा नदरिएका पनि त्यस्तै हुन लागिसके । दलमा नलागेका किसान, उद्योगी, व्यापारी, निजामती, शिक्षक, विद्यार्थी र स्वतन्त्र लेख्नुपर्ने लेखकसम्म पनि । रुमल्लिएका कार्यकर्ता, म आफैं जस्ता कतै नबिकेका साहित्य लेख्ने साहित्यकार, तपाईँँ जस्ता यी साहित्य चाख मानी मानी पढिदिने पाठकसम्म पनि । आउनोस् एउटा अभियानमा लागौं । आखिर स्याउँस्याउँ रहेका चोकचोकका अभियन्ताकै पनि त कन्तबिजोक छ नि देशमा । तपाईँ हामी थपिएर के नै बिगार पर्ला र ?
ब्रोइलर नपुगेको ठाउँ र पहिचान नभएको गाउँ यी नेपालमा दुर्लभ नै होलान् । सोलु पुगेर मासु माग्दा ब्रोइलर नै भेट्नुहुन्छ भने कालिकोटमा अण्डा भन्नु भयो भने लोकल पाइँदैनन् । जेहोस् यी कुखुरा न भाले हुन् न त पोथी नै । न त यिनका नागरिकतामा अन्य भनेरै लेखिन्छ । यी न पहाडका हुन् न त तराइका । यी त बरु हुम्ला, जुम्ला, सोलुखुम्बुका ठालू होटलसम्म विभिन्न रुपमा पुगेका पाइन्छन् ।
न यिनलाई लोकल कुखुराले झैं किरा खानाले पाप र व्रत बस्नाले धर्म छ, न त न्याउरी आउँदा कराउने कर्म नै । न्याउरीले घिच्याउँदा पनि खुरुखुरु घिसारिन्छन् मात्रै ।
लेख्नेहरु पनि अब प्रजातान्त्रिक र प्रगतिशील भनेर चिनिने गरेका छन् । लेखेर प्रगति हुनेहरु प्रगतिशील हुन्छन् कि भनुँ भने आफ्नै पुस्तक आफैंले पनि राम्ररी पढ्न नसकेका लेखकहरु कति छन् कति । गालीलाई क्रान्तिकारी मान्ने हो भने गाली शिरोमणिहरुलाई कसरी पो प्रजातान्त्रिक भन्ने हो ।
केही मान्छेहरु माकुने तरिकाका हुन्छन् । (माकुरे हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ ।) माकुरे– माकुराले जीवनभरी जाल बिछ्याएर अनेकन जीवहरु फसाएर आफ्नो पेट भर्दछ । उसका बालबच्चाले पनि त्यही सिको गर्छन् । तर पहिले आफ्नै माउ खाइदिन्छन् । केही मान्छेहरु ओली प्रवृत्तिका पाइन्छन् । (बोली हुनुपर्ने हुँदा अन्यथा भएकोले सच्याइएको छ ।) आफूले गर्दा ठीक अरुले गर्दा बेठीक । कागजले पद पाएका अहिलेका सरकारका नाइके ‘लास्टाँ जेठाजु पर्ने’ भनेजस्तो परेछन् । (नायक हुनुपर्नेमा नाइके भएको..) सलह जसरी भएभरका हरियोपरियो फलाहार गर्ने भोकमरी किराजस्ता प्रवृत्तिका वामदेवहरु पनि हुन्छन् । (भूलसुधार– रामदेव हुनुपर्ने हुँदा सच्याइएको ।) रामदेवले झैं रुखका पात, बोक्रा, फल, जरा र जराले भेटेका माटोसम्म पनि आयुर्वेदका नाममा व्यापार गर्नेहरु पनि भेटिन्छन् ।
कमल थापाको ट्विट र फलानो होटलको स्वीट उस्तै उस्तै लाग्छ । खान मन पनि लाग्ने, सुगर लेभल हाइ । ज्ञानेन्द्र शाहको हाच्छिउँले काठमाडौंका शासकको मनको भूकम्पको रेक्टर नापिरहेछ । संक्रामक रोग बढ्दा स्कूल बन्द गर्ने सिडियोको उर्दी र सभा सम्मेलनको पूर्जीले पनि देशमा ठूलै ब्रोइलर बौद्धिकता बढाएको छ । ठेकेदारले पाएको ठेक्कालाई विकास मान्दै उनैलाई भोट हालिदिनुपर्ने हाम्रो बाध्यता पनि छ । हाम्रो विकासको सोच पनि ब्रोइलरझैं हुनुपर्छ । चुनाव जितेको ४५ दिनमा डाँडा भस्काउने, बाटो खन्ने, ढल बनाउने । रातो किताबको योजना, कालो धनको कालोपत्रे, सेतो कागजहरु तम्तयार ।
केही राजनीति गर्नेचाही ब्रोइलरजस्तै हुन्छन् । सरकारका समर्थक हो पनि होइन पनि । विपक्षी हो पनि होइन पनि । पार्टी छ पनि छैन पनि । तै पनि धेरैले रुचाएका भने छन् है । किनकी ती सडकदेखि सत्तासम्म यस्तै ढुनमुने नीतिले लिरिङतिरिङ चलिरहेका हुन्छन् । बरखी बारेका यी कुखुराहरुका भने बाबुआमाको पहिचान नभएजस्तो कार्यकर्ताहरु पहिचानविहिन हुँदैछन् । यतिखेर फिल्म क्षेत्रझैं राजनीतिमा भविष्य नदेखेपछि ती पनि ब्रोइलर पाल्ने योजनामा छन् ।
आखिर ब्रोइलर कुखुराको के भाउ छ र देशमा । दानापानी जति खुवाए पनि जीवनको उत्तराद्र्धमा तौल घट्दै जाने हो, घाँटी खुइलिँदै जाने हो, पाल्नेहरुले पनि सस्तैमा भए पनि फाल्दै जाने हो । यी न त भैंमा हुन्छन्, न त भाँडामा नै । यी न च्याँठ्ठिएर बास्न सक्छन्, न त चुपचाप नै । यी आरोप मात्रै हुन् । धन्न लेख लेखेर मान मर्दन गरिएको भन्दै रीट परेको छैन ।
ब्रोइलरहरु आफूलाई राजाका पनि हुँ भन्छन्, रैतीका पनि हुँ भन्छन् । मरेपछि गायक, लेखकको मात्रै होइन ब्रोइलरको पनि चर्चा धेरै हुँदोरहेछ । प्रेसर रोगीले पनि तान्ने, कोलेस्ट्रोल बढेकाले पनि राम्रै मान्ने हुँदा जिउँदोमा भन्दा मरेपछि यिनको मानइज्जत बढ्दो छ । देश विदेशबाट भित्रिएका दाना खाएर ज्यान फुलाएका यिनका पहुँच पिर्कामा बस्नेदेखि जहाजमा बस्नेसम्मको हुन्छ भन्नसम्मचाहिँ सकिन्छ कि ।
चुनावका समयमा ब्रोइलर कुखुराहरुको अत्यधिक दोहन हुने हुँदा त्यसतर्फ ध्यानाकर्षण गराउँदै ब्रोइलरका पहिचानका लागि राष्ट्रिय ब्रोइलर संघ, संगठन घोषणा गर्नका लागि चुनावकेन्द्रित बजेट र सत्ता केन्द्रित सबै दलहरुसँग जोडदार माग गर्न ढिलाइ भैसकेको छ । अब गाइजात्रा होइन, जता जता दानापानी उताउता ब्रोइलर नीति अर्थात् ब्रोइलर जात्रा सुरु गरौं ।