भूटनदेवी माविका प्रअ माधव दाहाल र आधुनिक राष्ट्रिय माविका प्रअ वीरवंश बैैठा ।

हेटौंडाः सरकारले वैकल्पिक शिक्षण सिकाई निर्देशिका २०७७ जारी गरेको छ । कोरोना महामारीका कारण विद्यालय बन्द रहेको बेला अनलाइन कक्षाबाट सामुदायिक र संस्थागत विद्यालयले विद्यार्थीलाई पठपाठनमा जोड दिएका छन् । हेटौंडा-४ स्थित स्कूलरोडमा रहेको सबैभन्दा पुरानो तथा ऐतिहासिक विद्यालय भूटनदेवी माविका प्रधानाध्यापक (प्रअ) माधव दाहाल भन्नुहुन्छ-‘विद्यालय बन्द छ, वैकल्पिक शिक्षण सिकाईका रुपमा अनलाइन पठनपाठनलाई जोड दिएका छौं ।’ उपमहानगरको हितमा अनलाइन कक्षा सबैभन्दा बढी उपयोगी रहेकाले सबै विद्यार्थी उपस्थित नभए पनि निरन्तरता दिएको उहाँले बताउनुभयो ।

‘निम्न आर्थिक अवस्था भएको सामुदाय तथा परिवारका विद्यार्थी बढी अध्ययनरत छन्, कोरोनाका कारण दैनिक गुजारामा नै उनीहरुको ध्यान बढी हुन्छ’, प्रअ दाहाल भन्नुहुन्छ– ‘अभिभावक तथा विद्यार्थी विद्यालय भर्ना भई अनलाइन कक्षामा जोडिएर समय दिनुभन्दा दैनिकी कसरी गुजारा गर्ने विषयमा केन्द्रित हुने गरेका छन् ।’ तराईबाट आएका विद्यार्थी तथा कोठा भाडामा लिएर अध्ययनरत विद्यार्थीहरु गाउँघर फर्केकाले उनीहरुलाई वैकल्पिक शिक्षण सिकाईमा सहभागी गराउन समस्या भइरहेको उहाँले बताउनुभयो ।

कोरोनाका कारण कतिपय अभिभावक बेरोजगार बनेकाले थप समस्या भइरहेको भन्दै कोही विद्यार्थी आर्थिक अवस्थाकै कारण पढ्न नसकेको गुनासो आएमा निःशुल्क अध्ययन गराइने उहाँको भनाई छ ।
प्रअ दाहाल भन्नुहुन्छ-‘सामुदायिक विद्यालयबाट नै एसएलसी पास गरेर अहिले सामुदायिक विद्यालयकै प्रअको जिम्मेवारी लिएको छु । सामान्य परिवारबाट नै उच्च शिक्षा हासिल गरेर २०६७ सालदेखि भूटनदेवी माविको प्रअमा कार्यरत छु ।’ विद्यालय व्यवस्थापन समितिको विश्वास, आफ्नो क्षमता, दक्षता र योग्यताले प्रअको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको उहाँले बताउनुभयो । ११ वर्षदेखि विद्यार्थी, प्रशासनिक कर्मचारी, शिक्षक, अभिभावकसहित समुदायको जिम्मेवारी लिइरहँदा प्राविधिक शिक्षालयका रुपमा स्थापित गर्न सफल भएको प्रअ दाहालले बताउनुभयो ।

२०७७ सालको एसईईमा विद्यालयका ६ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएको उहाँले जानकारी दिनुभयो । भौतिक उपस्थिति जस्तो अनलाइन कक्षा प्रभावकारी नहुने भए पनि शैक्षिक क्षेत्रमा भइरहेको क्षतिलाई व्यवहारिकरुपमा लागू गर्न यस्तो नतिजाले सहयोग पुगेको उहाँले बताउनुभयो । कोभिडका कारण शैक्षिक गुणस्तरमा पूर्णरुपमा प्रभाव नदेखिए पनि आंशिकरुपमा भने प्रभाव परेको दाहालले दावी गर्नुभयो ।

आलोपालोरुपमा कक्षागत विद्यार्थीलाई कोभिडबारे मनोविमर्शसमेत दिँदै आएको उहाँले बताउनुभयो । ‘जसरी कोभिडले विद्यार्थीमा एउटा त्रास र शिक्षामा अन्यौलता देखिएको छ’, प्रअ दाहाल भन्नुहुन्छ– ‘पारिवारिक पृष्ठभूमिले पठनपाठनमा फरक ल्याउने हुँदा माथिल्लो कक्षा चढाएर भर्ना नभएका विद्यार्थीलाई पनि अनलाइन कक्षामा समावेश गरेका छौं ।’ यस जोखिम अवस्थामा विद्यालयले आफ्नो नेतृत्वमा विभिन्न कार्यक्रम गरेकाले आगामी दिनमा थप स्रोत साधन र पूर्वाधार विकासजस्ता कार्यक्रम सञ्चालन गरी देशकै प्रतिष्ठित प्रअ हुने लक्ष्यका साथ दूरगामी योगदान पुर्‍याउने उहाँले बताउनुभयो ।

यसैगरी, हेटौंडा-५ मा रहेको जीएस निकेतन माविका प्रअ ईश्वरप्रसाद लामिछाने भन्नुहुन्छ– ‘सामुदायिक तथा निजी विद्यालयबीच वैकल्पिक शिक्षण सिकाईमा फरक किसिमको प्रभाव देखिन्छन् ।’ निजी विद्यालयमा प्रायः बजार क्षेत्रका सम्पन्न परिवारका विद्यार्थी तथा केहीमात्र निम्न वर्गीय परिवारका विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो । जसले वैकल्पिक शिक्षण सिकाईअन्तर्गत् अनलाइन कक्षाबाट पनि शिक्षाको गुणस्तरमा फरक प्रभाव देखिने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

महामारीकै बेला यस वर्षबाट कक्षा ४, ५ र ६ मा नयाँ सेक्सन थपिएकोमा अझै विद्यालयप्रतिको जिम्मेवारी थपिएको उहाँले बताउनुभयो । तल्लो तह तथा कक्षा नर्सरी र केजीमा धेरै विद्यार्थी भर्ना हुने र आधारभूत तहमा भने विद्यालयको क्षमताअनुसार फराकिलो र मावि तहका विद्यार्थी भने सामुदायिक विद्यालय जाने गरेको उहाँले जानकारी दिनुभयो । इन्टरनेट तथा स्रोत र साधनबाट पहुँच भएका विद्यार्थी अध्ययनरत रहेकाले अनलाइन कक्षामा मात्र प्राथमिकता दिएर विद्यार्थी र अभिभावकको विश्वास दिलाउन सक्षम भएको प्रअ लामिछानेले बताउनुभयो ।

कतिपय निजी विद्यालयका शिक्षकले तलब नपाएको कुरा सञ्चार माध्यममा आइरहँदा जीएस निकेतन माविका शिक्षकले भने नेपाल सरकारको सेवा र सुविधाअनुसार शिक्षकको सेवा सुविधामा कटौती नगरिएको उहाँले जानकारी दिनुभयो । सहकारीमार्फत् सञ्चालित भएकाले विद्यालयले शैक्षिक शुल्क पनि अरु विद्यालयको तुलनामा कम लिएको उहाँले दावी गर्नुभयो । अनलाइन कक्षामा अभिभावकको आँखा छलेर मावि तहका विद्यार्थी कक्षामा सहभागी नहुने गरेको भन्दै विद्यालयले देनिक विद्यार्थी हाजिरी गर्दा ९५ प्रतिशत विद्यार्थी अनलाइन कक्षामा समेटिएको प्रअ लामिछानेले बताउनुभयो ।

मध्यम वर्गका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था विद्यालयले गरेको उहाँले जानकारी दिनुभयो । कोभिडले शिक्षा क्षेत्रमा अवसर र चुनौती दुबै ल्याएको भए पनि हामीले अवसरलाई सदुपयोग गर्दै अगाडि बढ््नुको विकल्प नभएको उहाँले बताउनुभयो । विद्यालयको गुणात्मक पहिचान अभिभावकलाई दिलाउन करिब १० वर्षदेखि प्रअको जिम्मेवारी लिइरहँदा फलदायी नेतृत्व सहाम्लेको उहाँले दावी गर्नुभयो । सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी उच्च शिक्षा हासिल गरेर निजी विद्यालयको जिम्मेवारी लिनु गौरवको कुरा भएको उहाँले बताउनुभयो ।

अनलाइन कक्षामा जोडिन नसक्ने केही विद्यार्थीका लागि भने वर्कसिट तयार गरी वितरणको तयारी भइरहेको उहाँले बताउनुभयो । आफू प्रअ हुँदा ८ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा अहिले दुई गुणा विद्यार्थी अध्ययनरत हुनु कार्यकाल सफलताको सूचक बनेको उहाँले बताउनुभयो । अहिलेको परिस्थितिमा भौतिक, आर्थिक र शैक्षिक पक्षलाई हेर्दा सही नेतृत्व लिनसक्ने क्षमता प्रअमा हुनुपर्ने उहाँले बताउनुभयो । सम्पन्न परिवारका विद्यार्थी अध्ययनरत निजी विद्यालय भए पनि अहिलेसम्म ५० प्रतिशत विद्यार्थीमात्र भर्ना भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, हेटौंडा-४ स्थित आधुनिक राष्ट्रिय माविका प्रअ वीरवंश बैठा भन्नुहुन्छ-‘वैकल्पिक शिक्षण सिकाईका रुपमा विभिन्न राष्ट्रिय टेलिभिजनमार्फत् समेत देशकै सम्पूर्ण विद्यार्थीका लागि भिडियोसहित कक्षा सञ्चालन गरेका छौं ।’ अनलाइन कक्षा सञ्चालन भइरहेको अवस्थामा रेडियोबाट पठनपठान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । अरु सामुदायिक विद्यालयले तल्लो कक्षाका विद्यार्थी समेट्न नसकेको अवस्थामा आफूले तल्लो कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई अनलाइन कक्षामा जोड्न सकेको दावी प्रअ बैठाले गर्नुभयो ।

१० प्रतिशत विद्यार्थी विद्यालय सम्पर्कबाहिर छन्, तर पनि समस्यालाई भन्दा अवसरलाई प्राथमिकता दिँदा यस विषम अवस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो । देशभर वातावरण तथा हावा प्रदूषण भनेर विद्यालय बन्दा गर्दा आफूले विद्यालय सञ्चालन गरेर सबैको प्रशंसा पाएको दावी उहाँले गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदा १४ वर्षको प्रअको जिम्मेवारीलाई अवसरलाई प्राथमिकता दिएर सफलता मिलेको बताउनुभयो । सामान्य परिवारबाट नै सामुदायिक विद्यालय अध्ययन गरी एसईई पास गरेका प्रअ बैठा आफू एक विद्यालय तथा देशको योग्य भएकोमा खुसी व्यक्त गर्नुभयो । राजनीतिमुक्त वातावरणमा रहेर शिक्षण पद्धतिमा जोड दिँदै आएको उहाँले दाबी गर्नुभयो ।