हेटौंडा–४ स्थित अजरअमर रोडमा नो पार्किङ क्षेत्रमा पार्किङ गरेर राखिएका सवारी साधनहरु ।

हेटौंडाः हेटौंडामा पछिल्लो समय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ । बढ्दो सवारी चाप, साँघुरो सडक तथा ट्राफिक जनशक्ति कमी हुनाले ट्राफिक व्यवस्थापनमा चुनौती बढ्दै गएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडामा ट्राफिकको दरबन्दी कम हुनुले पनि ट्राफिक व्यवस्थापन गर्न कठिनाई भएको छ । मकवानपुर जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति कमीले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डेले बताउनुभयो । जिल्लामा अहिले ३४ जना ट्राफिक प्रहरीहरु छन् । ३३ जनाको दरबन्दी रहेको छ । आफूहरुले ट्राफिक जनशक्ति थप उपलब्ध गराउन बैैठक राखेर पटक–पटक केन्द्रमा कुरा राख्दा पनि सम्बोधन भएको नभएको मकवानपुरका ट्राफिक प्रमुख पाण्डेले जानकारी दिनुभयो । भएका ३४ जना ट्राफिकहरुले जिल्लामा उल्लेखनीय काम गरिरहेको प्रमुख पाण्डेले बताउनुभयो । ट्राफिक कार्यालय मकवानपुरले अहिले ११ वटा पोष्टबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ११ वटा पोष्टबाट मात्र अहिले जिल्लामा ट्राफिक व्यवस्थापन गर्न नसकिने अवस्था रहेको प्रमुख पाण्डेले बताउनुभयो ।

हेटौंडामा एकतर्फी सवारी गुड्ने सडकमा दुईतर्फी गाडीहरु चलिरहेका छन् । हेटौंडा–४ स्थित अजरअमर रोड, स्कूल रोड र खोपेगल्लीमा दुईतर्फी अटो, मयूरीजस्ता मझौला सवारी साधनहरु र साना–ठुला गाडीहरु पनि चल्ने गर्छन् । पहिला यी सडकखण्डमा प्रहरीले वान वे भनेर नामाकरण गर्‍यो । केही समय ट्राफिक प्रहरीसमेत खटाइएका थिए । तर अहिले न त ट्राफिक प्रहरी देखिन्छ, न त अव्यवस्थित पार्किङ बारे उपमहानगरपालिकाले चासो नै दिन्छ ।

वान वे सडकमा दुइतर्फी सवारी चलेका छन् । यसैगरी नो पार्किङमा मोटरसाइकलहरु निर्वाधरुपमा पार्किङ गरेर राखिएको छ । हेटौंडा बजार क्षेत्रमा रहेका सँँघुरा सडक अव्यवस्थित पार्किङले झनै सँँघुरो देखिएको छ ।

यसैगरी बजारमा अहिले ३ हजार बढी अटो, मयूरी चल्ने गर्छन् । उनीहरुको व्यवस्थापन गर्न नसक्दा, सानादेखि ठूला सवारी एकै बाटोमा गुड्ने गरेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि व्यवस्थित पार्किङको व्यवस्थापन गरिएपनि स्थान पायक नभएका कारण फेरि पुरानै लयमा फर्किएको हो । कान्तिराजपथको धेरै स्थानमा राखिएको नो पार्किङको बोर्ड हटाएर पार्किङ राख्न ट्राफिक प्रहरी कार्यालय विवश देखिएको छ ।

जिल्लामा अहिले निषेधाज्ञा जारी छ । पसलहरु निश्चित समयसम्म खोलिन्छन् । मानिसहरु आफ्नो दैनिक उपभोग्य वस्तुहरु खरिद बिक्रीका लागि बजार निस्कने गरेका छन् । जिल्लामा कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै निजी तथा सार्वजानिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिए पनि पूर्ण कार्यान्वयमा आएको छैन । जिल्लामा जोरबिजोर प्रणाली लागू हुनै सकेको छैन ।