चोरी भएको भनिएको अटो भेटिएपछि अटोधनीलाई फिर्ता गर्दै प्रहरी ।

हेटौँडा : गत भदौमा हेटौँडाबाट हराएको अटो भरतपुरमा भेटिएको छ । हेटौँडा–१० का ४१ वर्षीय बमबहादुर न्यौपानेको घरमै पार्किङ गरिराखेको ना २ ह १३७१ नम्बरको अटो गत भदौ १४ गते हराएको थियो ।

अटो चोरीमा संलग्न भएको अभियोगमा नवलपरासी जिल्लाको कुलिन्टार गाउँपालिका–१ का ३० वर्षीय गोपाल श्रेष्ठ र चितवन जिल्लाको भरतपुर महानगरपालिका–११ का ३२ वर्षीय शंकर ढकाललाई प्रहरीले पक्राउ गरेको छ । हराएको भनिएको अटो चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, सल्लेरीटोलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले शुक्रबार सवारी धनीलाई अटो फिर्ता गरिदिएको छ । गोपाल र शंकरलाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।