राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका शाखाका प्रमुख कृष्णप्रसाद घिमिरेले मन्तव्य राख्नुहुँदै ।

हेटौंडाः हेटौंडा क्याम्पसले कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा सृजित चुनौती र अवसरबारे शनिबार अन्तरक्रिया गरेको छ । हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

मानन्धरले कोभिडका बेला शिक्षा क्षेत्र अगाडि बढिरहँदा वैकल्पिक शिक्षण सिकाई विधिको प्रयोग भइरहेको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे क्याम्पसले सरोकारवालासँग अन्तरक्रिया गरेर आगामी दिनमा थप प्रभावकारी बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो । अहिले विद्यार्थी नपढेर बसेको अवस्थाका साथै नपढे पनि यत्तिकै पास भइन्छ भन्ने मनस्थितिमा रहेको बताउनुभयो ।

निम्न वर्ग तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको हितमा उच्च शिक्षा हासिल गराउन क्याम्पस सधैं तप्पर रहेको क्याम्पस प्रमुख मानन्धरले बताउनुभयो । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका विद्यालयका विद्यार्थी त अनलाइन कक्षामा जोडिन सकेका छैनन् भने विकट क्षेत्रका विद्यार्थीको अवस्थाबारे सम्बन्धित निकायको चासो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाका प्रमुख कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख घिमिरेले सबै क्षेत्रका आ–आफ्नै आकांक्षा रहेको बेला शिक्षा क्षेत्रमा पनि उत्तिकै प्रभाव परेको बताउनुभयो । ‘शिक्षा क्षेत्र ठप्प रहेको बेला सबैभन्दा बढि बालबालिकामा असर तथा प्रभाव परेका छन् ।

यसका निम्ति शिक्षक तथा विद्यालय चिन्तित पनि छन्’, प्रमुख घिमिरेले भन्नुभयो– ‘मकवानपुर बालश्रमबाट समेत अछुत नरहेको स्थितिमा यसबेला बालबालिका बढी श्रममा संग्लन हुने कुरामा सम्बन्धित निकाय तथा सबैको ध्यानाकर्षण हुनु जरुरी छ ।’

राक्सिराङजस्ता विकट क्षेत्रबाट समेत विद्यार्थीहरु अध्ययनरत रहे पनि वैकल्पिक शिक्षण सिकाई प्रभावकारी नभएको स्थितिमा अवसरका तुलनामा चुनौती बढी रहेको भन्दै विद्यालयका प्रधानाध्यापकले चुनौतीलाई अवसरमा बदल्न प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । विद्यालयमा विद्यार्थी भर्ना भएका छैनन् र पढ्नसमेत नआएको अवस्थामा प्रधानाध्यापकहरुले कोसिस गरेर अगाडि बढ्नुपर्ने घिमिरेको भनाई थियो ।

हेटौंडा १, चाइनाक्वाटरमा रहेको अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले कोभिडका कारण प्रविधिमैत्री शिक्षालाई अग्रसर बनाइरहँदा प्राप्त भएको प्रविधिको उपयोगको अवसरलाई नै प्राथमिकता दिनु आवश्यक रहेको बताउनुभयो । सन् २००३ सालमै जुम एप्स आए पनि नेपालमा १७ वर्षपछि कोभिड महामारीका कारण प्रयोगमा आएको उहाँले बताउनुभयो । मूल्यांकनमा ग्रेडिङ सिस्टम सुरु भएपछि विद्यार्थीको पढाइको गुणस्तर खस्केको उहाँले दावी गर्नुभयो ।

५० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी भइरहँदा ३० प्रतिशत भने यस अवसरबाट वञ्चित भएको प्रधानाध्यापक उप्रेतीले बताउनुभयो । प्रविधिको पहुँचमा रहेका करिब २० प्रतिशत विद्यार्थी भने अनलाइन कक्षामा सहभागी नभएको उहाँले जानकारी दिनुभयो । ‘विद्यार्थी अनलाइनमै देखिन्छन् । सामाजिक सञ्जालमा सक्रिय छन् । अन्य साथीहरुसँग च्याटमा व्यस्त हुन्छन्’, प्रधानाध्यापक उप्रेतीले भन्नुभयो– ‘अनलाइन कक्षामा भने सहभागी हुँदैनन् ।’

मकवानपुरगढी गाउँपालिकाको वंशगोपाल माविका प्रधानाध्यापक लिलानाथ ढुंगेलले कोभिडका कारण क्षमतावान् तथा जान्ने विद्यार्थी र नजान्ने विद्यार्थीको पढाइको गुणस्तर एउटै बनाएको बताउनुभयो । बिहान र दिउँसो गरी कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गर्नुभयो । बालजगृति माविका प्रिन्सिपल विनोद सुवेदीले कोभिडले शैक्षिक क्षेत्रमा थुप्रै चुनौतीहरु ल्याएको भए पनि यसलाई अवसरमा बदल्न आशावादी हुन आवश्यक रहेको बताउनुयो ।