कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा भर्चुअल माध्यमबाट रचना वाचन एवम् पुस्तक चर्चा कार्यक्रमको सातौं श्रृंखला सम्पन्न भएको छ । कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाईंको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ छन्दकवि मनिराज जोशीले चौतारीले यो महामारीको समयमा पनि साहित्यिक कार्यक्रमहरुलाई प्रबिधिबाट सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो । जोशीले नवसर्जकहरुको रचना वाचन साथै पुस्तकमाथि गरिएको चर्चामा आफ्ना सान्दर्भिक मन्तव्यसँगै छन्द कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सदस्य सृष्टि लामा र उन्नत बरालले आफ्ना ३ वटा रचना वाचनका साथै आफूले अध्ययन गरेको पुस्तकको समीक्षा गर्नुभएको हो । जुममार्फत् आयोजित कार्यक्रममा सृष्टि लामाले मुक्तक, हाइकु, कविता वाचन गर्दै धनुषचन्द्र गौतमद्वारा रचित ‘घामका पाइलाहरु’ नामक कृतिको विषयमा चर्चा गर्नुभएको हो । त्यसैगरी उन्नत बरालले दुईवटा कविता अनि मुक्तकहरु वाचन गर्दै कृष्णप्रसाद पराजुलीको ‘लच्छिनको बँस’ पुस्तकको समीक्षा गर्नुभयो ।