फाइल तस्बिर ।

हेटौंडाः कोभिडका कारण गत ढेड वर्षदेखि शिक्षा क्षेत्र प्रभावित हुँदै आएकोे छ । बीचमा केही महिना विद्यालय तथा क्याम्पस खोलिएको भए पनि अहिले भौतिक उपस्थितिमा शिक्षण संस्था सञ्चालन गर्न सकिने अवस्था छैन ।

अहिलेको जटिल अवस्थामा शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको छ । बन्दाबन्दीको समयमा पनि विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिने उद्देश्यले सरकारले वैकल्पिक शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेको थियो । अहिले पनि सरकारले सोही निर्देशिकाअनुसार पठनपाठन गराउन अनुरोध गरिरहेको छ ।

मकवानपुर जिल्लाका विद्यालयहरुले पनि वैकल्पिक शिक्षण सिकाई प्रक्रिया अपनाई विद्यार्थीहरुलाई पढाइरहेका छन् । कुन–कुन विद्यालय तथा पालिकाहरुमा कुनकुन वैकल्पिक विधिबाट पठनपाठन भइरहेका छन् भन्ने यकिन तथ्यांक कुनै निकायमा नभए पनि अधिकांश निजी विद्यालय तथा बजार क्षेत्रका सामुदायिक विद्यालयहरुले अनलाइनबाट पठनपाठन जारी राखेका छन् ।

सरकारको आदेशअनुसार स्थानीय तहलाई सबै विद्यालयहरुमा वैकल्पिक विधिमा जुन विधि उपयुक्त हुन्छ, त्यसअनुसार पठनपाठन अगाडि बढाउन आग्रह गरिएको छ । तर कोरोना भाइरस जोखिम कायम नै भए पनि ग्रामीण क्षेत्रका केही विद्यालयले भौतिक उपस्थितिमै पठनपाठन गर्दै आएका छन् । बकैया गाउँपालिकामा रहेका बुद्ध मावि, महेन्द्र मावि, प्रभात मावि र जनक माविलगायतले भौतिक उपस्थितिमा पठनपाठन गराउन सुरु गरेको समाचार एक हप्ताअगाडि सञ्चार माध्यममा सार्वजनिक भएको थियो । यसैगरी मकवानपुरगढी गाउँपालिकामा रहेका केही विद्यालयले पनि भौतिक उपस्थितिमा पठनपाठन गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाका दुईवटा निजी विद्यालयका एक–एक जना सञ्चालकलाई विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति गराएको भन्दै सोमबार प्रहरीले पक्राउ गरेर जरिवाना गराएको थियो ।

विद्यालयले भौतिक उपस्थितिमा विद्यार्थी बोलाएर पठनपाठन गरिएको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारवाही गरिने बताउँदै आएको छ । अनलाइनजस्ता वैकल्पिक शिक्षण सिकाई विधिमा विकट ग्रामीण क्षेत्रका विद्यालयका सबै विद्यार्थीको पहुँच सम्भव देखिएको छैन ।

मकवानपुरगढी गाउँपालिकाका शिक्षा अधिकृत रामबहादुर घलान भन्नुहुन्छ– ‘पालिकाका विद्यालयहरुले वैकल्पिक शिक्षण सिकाईअनुरुप पठनपाठन गरिएको छ ।’ कुनै पनि विद्यालयलाई भौतिकरुपमा विद्यालय सञ्चालन नगर्न आग्रह गरेको र सोहीअनुरुप नै पढाइ भइरहेको उहाँले बताउनुभयो । मोबाइल सिम, अनलाइन सिकाई सहजीकरण, अनौपचारिक तथा शैक्षिक सामग्री, वर्कसिट वितरण गरेर वैकल्पिक शिक्षण सिकाई अगाडि बढाइरहेको शिक्षा अधिकृत घलानले बताउनुभयो ।

अनलाइन अर्थात् भर्चुअल माध्यमबाट पठनपाठन प्रभावकारी नभएको घलानले जानकारी दिनुभयो । मकवानपुगढीका ५ प्रतिशत विद्यार्थीमात्र समेट्न सकिने हुँदा अनलाइन विधि प्रभावकारी नदेखिएको उहाँले बताउनुभयो । यसकारण विद्यार्थीलाई घरघरमै शैक्षिक सामग्री वर्कसिट वितरण प्रक्रिया विद्यालयले अपनाएको उहाँले बताउनुभयो ।

पालिकामा ४९ वटा सामुदायिक र एउटा निजी विद्यालय गरी ५० वटा विद्यालय रहेका छन् । जसमा प्रायः निम्न वर्गका विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ९० प्रतिशत विद्यार्थी भर्ना भएको र १० प्रतिशत विद्यार्थी भर्ना हुन नसकेको उहाँले दावी गर्नुभयो । अभिभावक स्वयम्लाई नै आफ्ना बालबालिकाको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन जिम्मवार बनाउने प्रयत्न गरिएको उहाँले जानकारी दिनुभयो । केही विद्यार्थी भने विद्यालय बाहिर रहेको र केहीले गरिबीका कारण भर्ना हुन नसकेको अनुमान गरिएको उहाँले बताउनुभयो ।

कोरोना भाइरस संक्रमण जोखिमका बेला खान धौधौ हुने परिवारका बालबालिकाहरु केही इट्टाभट्टामा काम गर्न जाने गरेको पाइएको उहाँले बताउनुभयो । सबैभन्दा बढि वडा नम्बर २ र वडा नम्बर ४ का बालबालिका यस्ता जोखिमपूर्ण कार्यमा संग्लन भएको पाइएको छ । यसले गर्दा पनि विद्यालयको सम्पर्कमा केही विद्यार्थी नरहेको र तत्काल यसको अनुगमन गरी विद्यालयमा पर्काउन कोशिस गरिने उहाँले बताउनुभयो ।

यस्तै, बकैया गाउँपालिकामा रहेको महेन्द्र माविका शिक्षक नारायणप्रसाद चापागाईं भन्नुहुन्छ– ‘अरु गाउँपालिकाको तुलनामा बकैया भौगोलिकरुपमा विकट पालिका हो । यहाँका करिब १५ प्रतिशत विद्यार्थीमात्र अनलाइनमा जोडिन सकेका छन् । पालिकामा ७२ वटा सामुदायिक विद्यालय र ९ वटा निजी विद्यालय गरी ८१ वटा विद्यालय रहेको छ ।’ सञ्चार माध्यममा भने जसरी भौतिकरुपमा पठनपाठन नगरिएको उहाँले दावी गर्नुभयो । वैकल्पिक शिक्षण सिकाई सामग्री तयार गरी विद्यार्थीलाई समूहसमूहमा विद्यालयमा उपस्थित गराई वितरण कार्य भएको उहाँको भनाई छ ।

सिंगो बकैयाका लागि भौगौलिक कठिनाईका कारण सबै विद्यार्थीका घरघरमा शिक्षक पुग्न सम्भव नहुने हुँदा एक हप्तासम्म यसरी सामग्री वितरण गरिएको हो । पालिकाका विद्यालयमा ९५ प्रतिशत विद्यार्थी यो वर्ष भर्ना भएको उहाँले बताउनुभयो । विद्यार्थीले यस वैकल्पिक शिक्षण सिकाईअन्तर्गत रहेर ३५ प्रतिशतमात्र सिकाई उपलब्धी हुने गाउँपालिकाले जनाएको छ ।

अहिलेको विषम परिस्थितिमा विद्यालय कहिले खोल्ने निश्चित छैन । जसकारण पालिकाका सबै विद्यालयलाई समेटेर एउटा शिक्षण सिकाई विधिमा केन्द्रित रहेर विद्यार्थीलाई कसरी समेट्न सकिन्छ भन्ने योजना तथा नीति निर्माण गरी पेश गर्नसमेत आग्रह भइरहेको उहाँले बताउनुभयो । आगामी भदौ ७ गतेभित्र विद्यालयका प्रधानाध्यापकहरुलाई कसरी र कुन वैकल्पिक शिक्षण विधिबाट पठनपाठनलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने प्रस्ताव तयार गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । गाउँघरमा मोबाइल तथा इन्टरनेट जडान नभएका कारण पनि वैकल्पिक शिक्षण सिकाई प्रभावकारी हुन नसकेको उहाँले दाबी गर्नुभयो । विद्यालयमा इन्टरनेट जडानका लागि १२ हजार रुपैयाँ दिइएको छ । विद्यालयमा त इन्टरनेट जडान गर्न अनुदान दिनुपर्ने ठाउँमा कसरी सम्भव होला अनलाइन कक्षा ? यसमा सरोकार निकायको ध्यानकार्षण हुन आवश्यक देखिन्छ ।

विद्यालयमा शिक्षक अगाडि उभिएर पढाउँदासमेत पढ्न नखोज्ने विद्यार्थीहरुका लागि वैकल्पिक शिक्षण सिकाई कसरी सम्भव होला र ? जसकारण विद्यार्थी, अभिभावक र शिक्षकसहित स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीचको समन्वय तथा सहकार्यमा वैकल्पिक शिक्षणलाई प्रभावकारी बनाउन थप विकल्प अपनाउन आवश्यक भएको शिक्षक चापागाईंले बताउनुभयो ।