हेटौंडाः हेटौंडा–१६, हटियामा रहेको जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले डिप्लोमा तह कृषि तथा पशु विज्ञान संकायका अन्तिम वर्षका प्रशिक्षार्थीहरुको डब्लुईपी गर्नुपर्ने भन्दै सम्पूर्ण शुल्क बुझाउन अनुरोध गरेको छ । भदौ १ गतेसम्म विद्यालयलाई शुल्क नबुझाएको खण्डमा डब्लुईपी पठाइनेछैन भनेर विद्यालयले जारी गरेको सूचनाप्रति विद्यार्थीले विरोध जनाएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण अनलाइन कक्षा भएको र विद्यालयका कुनै पनि स्रोत तथा साधन प्रयोग नभएकाले विद्यार्थीहरुले त्यसको विरोध जनाएका हुन् । विद्यालयमा सीटीईभीटीमार्फत् कृषि तथा पशु विज्ञान संकाय सञ्चालन भइरहेको छ ।
वैकल्पिक शिक्षण सिकाई निर्देशिका, २०७७ अनुसार नै विद्यालय तथा क्यापसहरुले शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिरहेका छन् । सरकारले नै वैकल्पिक शिक्षण सिकाई अपनाएर पठनपाठन भएको अवस्थामा केही छुट गरेर शैक्षिक शुल्क लिन आग्राह गरेको छ । तर जनप्रिय माविले डिप्लोमा तह कृषि तथा पशु विज्ञान संकायका अन्तिम वर्षका प्रशिक्षार्थीहरुलाई भने शुल्क छुट नगरेको विद्यार्थीको गुनासो छ ।
कोरोना भाइरस संक्रमणका बेला पनि विद्यार्थीले विद्यालयलाई ६-६ महिनामा गरी वर्षमा ८० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको विद्यार्थीले गुनासो गरेका छन् । आफूले ५० हजार रुपैयाँ बुझाइसकेको र ३० हजार रुपैयाँ बाँकी रहेको विद्यार्थीहरुले बताएका छन् । विद्यालयले दोस्रो वर्षको परीक्षाको समयमा पनि शुल्कमा केही छुट दिने आश्वासन दिए पनि कुनै निर्णय नभएको विद्यार्थीहरुको भनाइ छ ।
विद्यालयले अहिले शुल्कमा छुट गर्न नसक्ने विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले बताउनुभएको छ । प्राविधिक शिक्षक तथा निजी स्रोतबाट तलब खुवाउने गरी नियुक्त भएकाले शुल्कमा छुट नहुने उहाँले बताउनुभयो । पहिले पनि सबै कोर्स पूरा गरेको र केही कोर्स अनलाइनबाट राम्रोगरी पढाएको दावी उहाँले गर्नुभयो । विद्यालयले सञ्चालन गरेको प्राविधिक शिक्षाको विषयमा निर्णय गर्ने समितिले नै विद्यार्थीको शुल्क छुट नगर्ने निर्णय गरेको प्रधानाध्यापक अर्यालले बताउनुभयो ।
प्रधानाध्यापकको हैसियतले आफूले यस विषयमा कुनै निर्णय लिन नमिल्ने भएकाले शुल्क छुट गर्न नमिल्ने उहाँले बताउनुभयो । दोस्रो वर्षमा पुरानो समितिले शुल्क छुट गर्ने कुरा गरेको भए पनि नयाँ समितिले त्यस विषमा कुनै निर्णय नलिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुले प्रथम, दोस्रो तथा तेस्रो वर्षको अन्तिमसम्म पनि धेरैले शुल्क बुझाएका छैनन् ।
शुल्क छुटसम्बन्धमा विद्यालय तथा समितिले कुनै निर्णय लिन नसकेकाले जतिसक्दो शुल्क बुझाउन विद्यालयले आग्रह गरिएको प्रधानाध्यापक अर्यालको भनाई छ । प्राविधिक शिक्षाका लागि कतैबाट अनुदान प्राप्त नभएकाले विद्यार्थीसँग लिएको शुल्कबाटै आवश्यक खर्च गर्नुपर्ने भएकाले विद्यार्थीलाई छुट गर्न नसकेको दावी अर्यालले गर्नुभयो ।