हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले गत आर्थिक वर्ष (आव) २०७७-०७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनको समीक्षा गरेको छ । मंगलबार गाउँपालिकाले समीक्षा गरेको हो । गत वर्षको कुल बजेट ५९ करोड ६४ लाख ४३ हजार ८७ रुपैयाँमध्ये गाउँपालिकाले ४४ करोड ४१ लाख ९ हजार ४ सय २२ रुपैयाँ खर्च गरेको छ ।
गाउँपालिकाले गत वर्षमा चालुतर्फको कुल बजेट २९ करोड १२ लाख २ हजार ८७ रुपैयाँमध्ये २२ करोड ९८ लाख ७३ हजार ७४ रुपैयाँ खर्च गरेको जनाएको छ । गाउँपालिकाले चालुतर्फ ७८.९४ प्रतिशत खर्च गरेको हो । यसैगरी पुँजीगततर्फ ३० करोड ५२ लाख ४१ हजारमध्ये २१ करोड ४२ लाख ३६ हजार ३ सय ४७ रुपैयाँ अर्थात् ७०.१९ प्रतिशत खर्च गरेको छ ।
समग्रमा गाउँपालिकाले ७४.४६ प्रतिशत बजेट खर्च गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । गाउँपालिकाले गत वर्षमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ९ करोड ५० लाखमध्ये ५ करोड १८ लाख ८८ हजार ७ सय रुपैयाँ खर्च गरेको छ । यो शीर्षकमा ५२.६८ प्रतिशत बजेटमात्रै खर्च भएको हो । यस्तै बागमती प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड २ लाख रुपैयाँमा ६४ लाख १८ हजार २ सय २४ रुपैयाँ खर्च भएको छ ।
राक्सिराङ गाउँपालिकालाई संघीय सरकारले दिएको विशेष अनुदान २ करोडमध्ये १ करोड ८३ लाख २० हजार ४ सय ६९ रुपैयाँ अर्थात् ९१.६ प्रतिशत खर्च गरेको छ । यस्तै प्रदेश सरकारबाट प्राप्त ३५ लाख विशेष अनुदानमध्ये ३३ लाख ११ हजार १ सय ४७ अर्थात् ९४.६ प्रतिशत खर्च भएको छ । गाउँपालिकाको हालसम्मको बेरुजु ४ करोड ५५ लाख ३३ हजार रुपैयाँ छ ।
३१२ योजना सम्पन्न
राक्सिराङले गत वर्षमा ३ सय १२ योजनाहरु सम्पन्न गरेको छ । ३ सय ५१ योजनामध्ये ३ सय १२ योजनाहरु सम्पन्न भएको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । उपभोक्ता समितिमार्फत् सञ्चालन भएको आर्थिक विकाससम्बन्धी १५ योजनामध्ये १४ योजना सम्पन्न भएको छ । सामाजिक विकासअन्तर्गत्को ६६ योजनामध्ये ६५ सम्पन्न, पूर्वाधार विकासतर्फ एक सय ४१ योजनामध्ये एक सय ३७ सम्पन्न, वातावरण तथा विपद् व्यवस्थापनका ५ योजनामा ५ वटै सम्पन्न भएको गाउँपालिकाले सार्वजनिक गरको छ । गत वर्षमा मात्रै गाउँपालिकाले उपभोक्ता समितिमार्फत् २ सय २७ योजनामध्ये २ सय २१ योजना सम्पन्न गरेको हो ।
गाउँपालिका तथा संघसंस्थामार्फत् सञ्चालन भएको सामाजिक विकासतर्फका ३५ योजनामध्ये १९ सम्पन्न गरिएको छ । कृषि तथा पशुअन्तर्गत्का १५ वटा योजनामा १३ योजना सम्पन्न भएका छन् । विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत्को १४ योजनामध्ये ११ योजना सम्पन्न भएका हुन् । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत्को १९ योजनामध्ये १७ योजना सम्पन्न भएको छ ।
१९६६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण
राक्सिराङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७७-०७८ मा एक हजार ९ सय ६६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाका ९ वटै वडाका ७० वर्षमाथिका एक हजार ३ सय ३८ जना जेष्ठ नागरिक, ५१ जना जेष्ठ नागरिक दलित, एक सय ५९ जना जेष्ठ नागरिक एकल महिला, २ सय ७६ जना एकल महिला, २२ जना क वर्गको अपाङ्ता भएका, ४९ जना ख वर्गको अपाङ्गता भएका र ७१ जना दलित बालबालिका गरी एक हजार ९ सय ६६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
न्यायिक समितिमा १० मुद्दा
राक्सिराङ गाउँपालिकाको न्यायिक समितिमा गत वर्ष १० वटामात्र मुद्दा परेको छ । १० मुद्दामध्ये ७ मुद्दाको छिनोफानो गरिएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले बताउनुभयो । यस्तै २ मुद्दालाई न्यायिक समितिले मिलाउन नसकेपछि अदालतमा पठाइएको थियो । यस्तै एक मुद्दा डिसमिस भएको उहाँले बताउनुभयो ।
४ ऐन र १८ कार्यविधि पारित
राक्सिराङ गाउ“पाकिलाले गत वर्ष चारवटा ऐनहरु पारित गरेको छ । यस्तै गाउ“पालिकाको कार्यलाई सहज बनाउन १८ वटा कार्यविधि पारित गरेको गाउ“पालिकाले जनाएको छ । गाउ“पालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, स्थानीय वन ऐन २०७८ र आव २०७८÷०७९ को आर्थिक ऐन र विनियोजन ऐन पारित गरेको थियो ।
स्थानीय पाठ्यपुस्तक तयार
राक्सिराङ गाउँपालिकाले स्थानीय तहको परिवेशलाई समेटर स्थानीय पाठ्यक्रम लागू गरेको छ । कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार गरेर पठनपाठन सुरु भएको गाउँपालिकाले जनाएको छ । स्थानीय भाषामा अडियो बडापत्र तयार पारेर वडा कार्यालयहरुमा राखिएको छ ।