प्रशिक्षण सामाग्री हस्तान्तरण गर्नुहुँदै हेटौंडा–७ का वडा अध्यक्ष राजन थापा र हेटौंडा–८ का वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ साथमा तेक्वान्दो संघका पदाधिकारी तथा प्रशिक्षकहरु ।

हेटौंडाः राष्ट्रिय तेकवान्दो संघ नेपाल, जिल्ला कार्यसमिति मकवानपुर अन्तर्गत रहेको तेक्वान्दो डोजाङलाई हेटौंडा उपमहानगरपालिकाका २ वटा वडा कार्यालयबाट संयुक्त रुपमा प्रशिक्षण सामाग्री सहयोग गरिएको छ । हेटौंडा–७ र ८ नं. वडामा रहेको किरणचोक तेक्वान्दो डोजाङलाई हेटौंडा–७ र ८ नं. वडा कार्यालयले संयुक्त रुपमा प्रशिक्षण सामाग्री प्रदान गरेको हो ।

आइतबार हेटौंडा–७ का वडा अध्यक्ष राजन थापा र हेटौंडा–८ का वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठले किरण चोक टोल विकास संस्थाको सभा हलमा नै पुगेर प्रशिक्षण सामग्री हस्तान्तरण गर्नुभएको छ । उहाँहरुले डोजाङलाई किक डमी १ थान, किक ब्याट १० थान, चेस्ट प्याड ४ थान, हेड गार्ड २ थान र ग्रोइङ गार्ड ४ थान प्रदान गर्नुभएको थियोे । दुबै वडाबाट ३०/३० हजार रुपैयाँ गरी ६० हजार रुपैयाँ बजेट बराबरको प्रशिक्षण सामाग्री सहयोग गरिएको जनाइएको छ ।

किरणचोक डोजाङमा हाल ६० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । यतिका खेलाडीहरुलाई प्रशिक्षण गराउनका लागि प्रशिक्षण सामाग्रीको अभाव भएपछि दुबै वडा कार्यालयसँग माग गरिएपछि उक्त सामाग्री प्राप्त भएको राष्ट्रिय तेकवान्दो संघ नेपाल, जिल्ला कार्यसमिति मकवानपुरका सचिव भोजराज पराजुलीले बताउनुभयो । खेलाडीहरुलाई मुख्य प्रशिक्षकद्वय नारायण सिंह थिङ र केशव बहादुर कार्की तथा सहायक प्रशिक्षण सुरज स्याङ्बोले प्रशिक्षण गराइरहनुभएको छ ।

प्रशिक्षण लिने खेलाडीहरुबाट संकलित रकमबाट नै प्रशिक्षकहरुलाई पारिश्रमिक उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । खेलाडीहरुबाट बढीमा मासिक ५ सय रुपैयाँसम्म र राम्रो खेल्ने तथा न्युन स्तरका खेलाडीहरुलाई निःशुल्क प्रशिक्षण प्रदान गरिएको पनि पराजुलीले बताउनुभयो । राष्ट्रिय तेकवान्दो संघ नेपाल, जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष मदन कुमार श्रेष्ठ, उपाध्यक्ष तथा प्रदेश सदस्य मान बहादुर वाइबालगायतको उपस्थिति रहेको थियो ।