हेटौंडाः सहिद स्मारक सी डिभिजन लिग अन्तर्गतको छनोट प्रतियोगितामा सहभागिता जनाउन लागेको मकवानपुरको विजय युथ क्लबलाई ३० हजार रुपैयाँ अर्थिक सहयोग प्राप्त भएको छ । हाल अष्ट्रेलियामा रहनु भएका मकवानपरे फुटबल खेलाडी एलन न्यौपानेले ३० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
लगभग एक वर्षदेखि अष्ट्रलियामा रहँदै आउनुभएका एलनले आफुले खेल्ने गरेको क्लब लिगमा सहभागिता जनाउन जाने भएपछि खुसी लागेको भन्दै आर्थिक सहयोग गर्नुभएको विजय युथ क्लबका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिनुभयो । फुटबल खेल्दै मकवानपुरको नाम राख्न सफल एलन राष्ट्रिय खेलाडीको रुपमा रहँदै आउनुभएको थियो । गोलरक्षकको जिम्मेवारी सम्हाल्नुहुने उहाँले ए डिभिजन लिग फुटबलमा समेत पहिलो रोजाइको खेलाडीको रुपमा खेल्दै आउनुभएको थियो ।
हाल अष्ट्रेलियामा पनि समय मिलाएर फुटबल खेलिरहनुभएका एलन कात्तिक २९ गतेबाट हुने ए डिभिजन लिग खेल्न आउने सम्भावना रहेको जनाइएको छ । यस्तै यही भदौ १ गतेबाट हुने भनिएको सी डिभिजन लिग छनोट भने भदौ १० गतेबाट सुरु हुनेगरी सरेको छ । छनोटमा सहभागी हुनको लागि क्लबहरुले दर्ता गर्ने समय थप गर्न माग गरेको कारण छनोट प्रतियोगिता केही दिनलाई सारिएको एन्फाले जनाएको छ ।











