कोरोनाबाट मकवानपुरमा हालसम्म १२ हजार बढी मानिस संक्रमित भइसकेका छन् । करिब डेढ सयको मृत्यु भएको छ । अहिले पनि पाँच सय बढी मानिस उपचार गराइरहेका छन् । दैनिक परीक्षणको संख्या घटे पनि कोरोना पुष्टि हुनेको प्रतिशत कम हुन सकेको छैन । कोरोना महामारी नियन्त्रणका लागि भन्दै लगाइएको निषेधाज्ञा नाममा मात्र सीमित भएको छ । बजार करिब पूर्णरुपमा खुला भएको छ । जिल्लाभित्रका यातायात सञ्चालन हुन थालेका छन् । अस्पतालहरुले सबै प्रकारका सेवाहरु सुचारु गरेका छन् । रोगले भन्दा भोकले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न कोरोनासँगै बाँच्ने उपायको खोजी हुनै पर्दछ । रोगसँग भाग्ने भन्दा जुध्ने तरिका अपनाउनु पर्दछ । तर असावधानी गर्नु हुँदैन ।
निरन्तर सामाजिक जीवन अवरोध गर्न दिनुहुँदैन । मानिसको दैनिकीका लागि पनि बजार खुल्नु आवश्यक हुन्छ । यस्तै दैनिक क्रियाकलाप सहज बनाउँदै जानुको विकल्प छैन । कोरोना रोकथामका लागि राज्यले विविध उपायको खोजीका साथै नागरिक जीवन सहज बनाउनु आवश्यक हुन्छ । यसै क्रममा निषेधाज्ञा लगाउने वा खुकुलो बनाउने विधि अपनाउन सक्छ । तर यसमा नागरिकको भूमिका बढी हुने गर्दछ । राज्यका लागि मात्र होशियारी अपनाउने भन्दा आफ्नै लागि सुरक्षित हुनु पर्दछ । आफूबाहेक समाजका सबै सदस्यलाई कोरोना भाइरस छ भन्ने मान्यताले प्रत्येक नागरिक आफू सुरक्षित हुँदै आफ्नो दैनिकी सञ्चालन गर्न आवश्यक छ । तर नागरिकका व्यवहार पूर्ववत भइरहँदा कुनै पनि समयमा महामारी बढ्नसक्ने देखिँदैछ ।
जनजीवन सहज बनाउन हेटौंडा अपस्पतालले सवै सेवा दिन सुरु गरेको छ । तर यही अस्पताल महामारीको थलो बन्ने खतराप्रति कसैको चासो देखिँदैन । कोभिडको मात्र उपचार गर्दा अन्य बिरामीहरु मर्कामा परेका थिए । तसर्थ हेटौंडा अस्पतालले अरु सेवा सुरु गरेकोमा कसैको गुनासो छैन । नागरिककै पक्षमा सुरु गरिएको सेवालाई व्यवस्थित गर्न आवश्यक छ । तर अव्यवस्थितरुपमा भिडभाड बढ्दा महामारीको केन्द्र नै अस्पताल बन्ने खतरा छ । कुपन लिने र टिकट काट्ने ठाउँ अत्यन्त साँघुरो भएपछि भिड बढेको देखिन्छ भने नागरिक स्वयम पनि स्वास्थ्य सुरक्षाप्रति गम्भीर देखिँदैनन् । ठेलमठेल गरी लाइन लाग्ने तथा मास्क प्रयोगमा लापरबाही गरेको देखिन्छ । यसका लागि अस्पताल प्रशासन थप गम्भीर र सक्रिय बन्न जरुरी देखिन्छ ।
अस्पतालमा मात्र हैन कि मानिसको जमघट हुने प्रकारका कार्यक्रमहरु समेत खुल्लमखुला हुन थालेका छन् । अस्पताल त अत्यावश्यक सेवा भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्नु स्वभाविक हुन्छ । तर यतिबेला नगर्दा पनि केही नबित्ने कार्यक्रमप्रति प्रशासन मौन र अनदेखा बन्दै गएको छ । यसले तेस्रो लहरलाई सहजै आमन्त्रण त गरिरहेका छैनौं भन्नेतर्फ गम्भीर हुन आवश्यक छ । विभिन्न खेलकुदका प्रतियोगिता नगर्न प्रशासनले जारी गरेको निषेधाज्ञामा उल्लेख छ । तर यसको कार्यान्वयन भएको छ ? नागरिकको जमघट हुने कार्यक्रम आयोजना गर्नेहरुलाई यतिबेला नै किन हतारो पर्छ ? कोरोनालाई हेप्ने वा प्रशासनको निर्देशन अवज्ञाकै लागि यस्ता कार्यक्रम गरिँदैछन् ? अस्पतालको भिड वा खेलकुद प्रतियोगिताहरुले ल्याउने जोखिमप्रति सचेत बन्नु पर्दछ ।