हेटौंडाः मकवानपुरको हेटौंडामा रगतको अभाव भएको छ । कोरोनाको महामारीसँगै पछिल्लो दिनयता जिल्लामै रगतको अभाव हुन थालेको रक्तसञ्चार केन्द्र मकवानपुरका प्रमुख टंक प्रसाद दाहालले जानकारी दिनुभयो ।
विगत १५ दिनदेखि जिल्लामा कुनैपनि रक्तदान कार्यक्रम नभएपछि रगत संकलन कार्य रोकिएकाले रगतको अभाव भएको उहाँको भनाई छ । आर्थिक वर्षको अन्त्यमा रक्तदानको कुनै कार्यक्रम नहुनु, बिरामीको संख्या बढ्दै जाँदा रगतको माग बढ्नु, हेटौंडा अस्पतालमा डायलासिस सेवा सुचारु भएपछि त्यहाँसमेत रगत आवश्यक पर्नु, कोरोनाको कारण रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्नेको संख्यामा समेत कमी आउनाले रगतको अभाव भएको प्रमुख दाहालले बताउनुभयो ।
छिमेकी जिल्ला चितवनमा समेत रगत उपलब्ध गराउनुपर्ने भएकाले अझै समस्या भइरहको पनि उहाँले बताउनुभयो । यस्तै रगत संकलन गर्नका लागि नियमित रक्तदाताहरुलाई फोन गरेर बोलाइरहेको उहाँले जानकारी दिनुभयो । साउन १ गते र २ गते रक्तसंचार केन्द्रमै आएर १२ जनाले रक्तदान गर्नुभएको पनि प्रमुख दाहालले बताउनुभएको छ ।