कोरोना महामारीसँगै नेपालमा अनलाइनको माध्यमबाट पठनपाठन हुँदै आएको छ । तर यसको प्रभावकारिताको सम्बन्धमा अध्ययन भएको छैन । विद्यालय तहका सवै विद्यार्थीले अनलाइन कक्षामा सहभागी नभएको यथार्थ हो । कारण जेसुकै भए पनि अनलाइन कक्षामा विद्यार्थी कम हुनु भनेको यसको प्रभावकारिता माथिको प्रश्न हो । नानीबाबुहरु अभिभावकको निगरानीमा मात्र बस्दा आउन सक्ने समस्याको निराकरणका लागि अनलाइन सिकाई सहयोगी हुँदै आएको छ । तर प्रत्यक्ष कक्षामा सहभागी भएर गरिने अध्यापन र कम्प्युटरको माध्यमबाट हुने सिकाई र यसबाट विद्यार्थीले ग्रहण गर्ने अवस्थामा निकै भिन्नता छ । क्याम्पस तहका विद्यार्थीसमेत भर्चुअल माध्यमको सिकाईबाट सन्तुष्ट छैनन् भने विद्यालय तहमा प्रविधिका माध्यमबाट भएको पढाईको प्रभावकारिता न्यून हुनु स्वभाविक हो ।
जिल्लाका धेरैजसो प्रधानाध्यापकहरुले बाध्यता भए पनि अनलाइन कक्षा प्रभावकारी हुन नसकेको बताएका छन् । विद्यार्थीहरुको न्यून उपस्थितिले पनि यसको प्रभावकारितामा प्रश्न उठेको देखिन्छ । विशेषगरी ग्रामीण क्षेत्रमा अनलाइन कक्षाप्रति बालबालिकाहरुको रुचि कम पाइएको छ । अभिभावकसमेत प्रविधि प्रयोगमा जानकार नहुँदा समस्या हुने गरेको छ । यस्तै बाल स्वभावका कारण पनि प्रविधिबाट अध्यापन गर्न सहज नभएको प्रधानाध्यापकहरुको अनुभव छ । पछिल्लो समयमा पालिकाहरुले आफ्नो नीति तथा बजेटमा प्रविधिमैत्री शिक्षामा जोड दिएका भए पनि यसको प्रभावकारी र स्थायित्वप्रति प्रश्न खडा भएको छ । प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्थामा यो विधि कामचलाउ मात्र बन्ने छ । प्रविधिमार्फत्को अध्यापनका लागि अभिभावकको आर्थिक अवस्था र इन्टरनेट सुविधासँग पनि प्रत्यक्ष सम्बन्ध राख्दछ ।
प्रविधिमार्फत् गरिने सिकाईमा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयमा विद्यार्थीको सहभागिता बढी हुने गरे पनि पूर्ण छैन । विद्यालय, शिक्षक तथा अभिभावकसँग प्रविधिमैत्री शिक्षणका लागि पर्याप्त उपकरण तथा प्रयोगको ज्ञान नहुँदा अनलाइन शिक्षण सोचेजस्तो प्रभावकारी नभएको अनुभव शिक्षकहरुको पाइन्छ । सान्त्वनास्वरुप कक्षा सञ्चालन भए पनि विद्यार्थीहरुको वौद्धिक ज्ञानमा भिन्नता छैन । बरु कक्षा अवधिभर प्रविधिमा खेलेर रमाउने प्रवृत्ति देखिएको छ । अनलाइन कक्षाले ज्ञान आर्जनभन्दा पनि समय कटाउने माध्यममात्र भएको अभिभावकहरुको गुनासोले पनि प्रविधिमार्फत् भएको अध्यापन प्रभावकारी छैन भन्ने प्रष्ट्याएको छ । शिक्षकहरुले विद्यार्थीलाई आफ्नो नियन्त्रणमा राख्न सक्ने अवस्था नभएपछि अभिभावहरुले विद्यार्थीसँगै बस्नुपर्ने हुन्छ ।
प्रत्यक्ष कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा प्रविधिको विकल्प के भन्ने प्रश्न उठ्न सक्छ । भएनमात्र भन्नुभन्दा कोरोना महामारीमा कसरी उपलब्धिमूलक बनाउने भन्ने कोणबाट विश्लेषण गरिनु पर्दछ । साना नानीहरुलाई भर्चुअल माध्यमबाट हुने सिकाईमा अभ्यस्त बनाउनका लागि अभिभावक बढी जिम्मेवार हुनैपर्छ । कक्षा अवधिभर नानीहरुसंँग रहने र उनीहरुलाई सिकाई कार्यमा प्रेरित गर्नु आवश्यक छ । प्रभावकारी भएन भनेर अध्यापन नै बन्द गर्ने हो भने झन अर्को समस्या हुनसक्छ । शैक्षिक बर्ष नै नोक्सान हुनेदेखि पढ्ने बानी नै हराउन सक्छ । कोरोना कहिलेसम्म हो भन्ने यकिन नभएकाले अनलाइन कक्षालाई प्रभावकारी बनाउने विषयमा विज्ञ, अभिभावक र शिक्षकहरुको समन्वय र अनुभवको आदानप्रदान आवश्यक देखिन्छ ।