हेटौंडाः किसानलाई कृषि कर्जा प्रवाह गर्न सहजताका लागि मकवानपुरगढी गाउँपालिकामा किसान क्रेडिट कार्ड वितरण गरिएको छ । गाउँपालिकाका साना तथा सिमान्तकृत किसानहरुलाई किसान कार्ड वितरण गरिएको हो ।
शुक्रबार एक कार्यक्रमका बीच कृषकहरुलाई किसान कार्ड वितरण गरिएको छ । नेपाल बंगलादेश बैंक मकवानपुरगढी शाखाका प्रमुख बद्रीबिक्रम थापाको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईंको प्रमुख आतिथ्यतामा किसान कार्ड वितरण गरिएको हो ।
कार्यक्रममा ८ जना महिला र १७ जना पुरुष गरी २५ जना कृषकलाई किसान कार्डमार्फत् प्रतिकिसान दुई लाख रुपैयाँका दरले बिनाधितो सहुलियत ब्याजदरको कृषि कर्जा उपलब्ध गराइएको छ । नेपाल बंगलादेश बैंक, आरएण्डडी ईनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौताबमोजिम किसान कार्ड वितरण गरिएको हो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरे, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहाल र गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको आतिथ्यता रहेको थियो ।