हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेशका तीन वटा विद्यालयलाई बृहत् विद्यालयका रुपमा स्थापित गर्ने भएको छ । प्रत्येक प्रदेशमा तीन–तीनवटा विद्यालयलाई वृहत् विद्यालयको रुपमा विकास गरिने कार्यक्रमअनुसार बागमती प्रदेशबाट पनि तीन वटा विद्यालय छनौटमा परेको हो ।
प्रदेश सरकारले ५७ अर्ब ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दा बृहत विद्यालयलाई पनि प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट सिद्धार्थ माध्यमिक विद्यालय, सिन्धुलीको गौमती माध्यमिक विद्यालय र सिन्धुपाल्चोकको थाङपाल भ्याली माध्यमिक विद्यालय गरी तीन विद्यालय डीपीआर कार्यक्रमअन्तर्गत् बृहत विद्यालयका रुपमा छनौट भएको शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशका शाखा अधिकृत शारदाकुमारी मैनालीले जानकारी दिनुभएको छ ।
प्रदेश सरकारले सामुदायिक आधारभूत तथा प्राथमिक तहका विद्यालय मर्ज भइरहने कुरालाई मध्येनजर गरेर यस्ता विद्यालयको स्थापना गरी गुणस्तरीय शिक्षा प्रणालीलाई जोड दिने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको अधिकृत मैनालीले बताउनुभयो । नमूना विद्यालयको रुपमा छनौटमा परेका विद्यालयलाई यस कार्यक्रममा सहभागी नगराइने उहाँले जानकारी दिनुुभयो ।
२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत भएका विद्यालयलाई मात्र यस कार्यक्रममा छनौट गरिने छ । विद्यालयमा जति विद्यार्थी अध्ययनका लागि आउँछन्, ती सबै विद्यार्थीका लागि अध्ययन गर्न सकिने वातावरणको सिर्जना विद्यालय स्वयम्ले गर्नुपर्ने हुन्छ । त्यसैगरी आधारभूत विद्यालयका रुपमा सञ्चालनमा रहेका दुई वा दुईभन्दा बढी विद्यालयहरु गाँभिएर पढाई भइरहेका माध्यमिक विद्यालयलाई यस्ता विद्यालयका रुपमा प्रदेश सरकारले सञ्चालन गर्न लागेको हो ।
यस वर्षबाट सुरुवातका लागि सरकारले पहल गर्ने भएपनि प्रवद्र्धनका लागि तथा सुरुवातमात्र गरिने अधिकृत मैनालीले बताउनुभयो । विकट र ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई पनि शहरका विद्यालयको विद्यार्थीसँगै शिक्षामा समता स्थापित गरिने उद्देश्यले यस्ता विद्यालयमा पढाइ हुने बताउनुभयो । समयको अभावका साथसाथै टाढा भएका विद्यार्थी घर जान सम्भव नहुने हुँदा विद्यालयमा नै आधारभूत अवश्यकता परिपूूर्तिसहित होस्टेलमा विद्यार्थी बस्ने वातारण निर्माण गरिने बताइएको छ । होस्टलको व्यवस्थाले पढ्न कमजोर रहेका विद्यार्थीहरुलाई पनि पढाइमा अब्बल बनाउन प्रेरित गर्न सहयोग पुुग्दछ ।
गुणस्तरीय शिक्षा आजको आवश्यकतालाई प्राथकिता दिई गुणस्तरीय शिक्षा प्रणालीलाई अवलम्बन गर्न यो कार्यक्रम सहयोगी हुने अधिकृत मैनालीले बताउनुुभयो । विद्यालयमा पर्याप्त कक्षाकोठा, ल्याबलगायत भौतिक पूूर्वाधारसम्पन्न भएका विद्यालय हुनुपर्ने हुँदा वृहत् विद्यालयका रुपमा सञ्चालन गर्न १५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको लागत लाग्ने अधिकृत मैनालीले जानकारी दिनुभएको छ ।
सरकारले यस्ता विद्यालय सञ्चालनका लागि बजेट उपलब्ध गर्ने भए पनि कति बजेट छुट्याइएको छ भन्ने खुलाइएको छैन । विद्यालयका होस्टेलमा बसेको खर्च तथा आधारभूत आवश्यकता कसले लिने भन्ने कुरा छलफल नभएको मैनालीले जानकारी दिनुभयो ।
सिद्धार्थमा वृहत् विद्यालयको तयारी गरिँदै
हेटौंडा–२ स्थित सिद्धार्थ माविले वृहत् विद्यालयका रुपमा छनौट भएसँगै कार्यक्रम कार्यान्वयनको तयारी अघि बढाएको छ । प्रदेश सरकारसँग वृहत् तथा मेघा विद्यालयको सम्झौता गरेसँगै कार्यान्वयनको तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभएको छ ।
विद्यालयले समता तथा गुणस्तरीय शिक्षा प्रणालीलाई जोड दिने उहाँले बताउनुभयो । पहिला नै ज्योति आधारभूत विद्यालय र देवी निमावि मर्ज भई सिद्धार्थ माविमा गाभिएको थियो । विद्यालयलाई आवश्यक पर्ने यातायात, होस्टलको व्यवस्था र आवश्यक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा प्राणालीलाई अवलम्बन गर्न, शिक्षकको व्यवस्था तथा नियुक्ति, कक्षाकोठाजस्ता आवश्यकताहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्था गर्ने प्रधानाध्यापक शर्माले बताउनुभयो ।