हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखी सार्वजनिक सवारी संचालन गर्न दिने भएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आदेश जारी गर्नुहुँदै असार २७ गते आइतबारदेखी मकवानपुर जिल्ला भित्रमात्र सार्वजनिक सवारी संचालन गर्न पाइने जानकारी बताउनुभएको छ । जिल्ला भित्र कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि बिहिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म सार्वजनिक सवारी चलाउन पाईने निर्णय भएको उहाँले बताउनुभयो ।

सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रूलाई मास्क अनिवार्य गर्ने, सवारीको ढोकामा र सवारी साधन भित्र सेनिटाइजर अनिवार्य गर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउनुपर्ने, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने निर्णयमा भनिएको छ ।

यसैगरी सार्वजनिक सवारीमा कुनै यात्रु मास्क नलगाई आएमा सोही सवारीका चालक वा सहचालकले बढीमा ५ रुपैयाँ लिएर मास्क प्रदान गर्नुपर्ने, तथा मास्क लगाउन नमान्ने व्यक्तिलाई सवारी साधन चढ्न रोक लगाउन प्रशासनले आदेश दिएको छ । यसैगरी मयुरी, टेम्पो, अटो र म्याजिक भने गते अनुसार जोर बिजोर प्रणालीमा नै संचालन गर्न निर्देशन दिइएको छ ।