
हेटौंडाः हिमाल मुटु अस्पताल काठमाडौंले मकवानपुरको पश्चिमी क्षेत्रस्थित विकट राक्सिराङ गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको विशेष पहलमा हिमाल मुटु अस्पतालले राक्सिराङ गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
हिमाल मुटुको सहयोगमा हेटौंडा–६ मा निर्माणाधिन सिद्धस्थली रुलर कम्युनिटि अस्पताल परिसरमा बुधबार नेताद्वय डीना र बानियाँले संयुक्तरुपमा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको छ । हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन चौलागाईको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हिमाल मुट अस्पतालकी अध्यक्ष गोमा गौतम, डा. अमन गौतमको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मकवानपुरको विकट राक्सिराङमा गरिब तामाङ र लोपोन्मुख चेपाङको बसोबास रहेको गाउँपालिका भएकाले कोरोना महामारीमा धेरै नै राहत पुग्ने बताउनुभयो । राक्सिराङ गाउँपालिकाले २० बेडको कोभिड–१९ अस्पताल नै सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति मकवानपुरको मौज्दात कोषबाट प्राप्त ५० लाख रुपैयाँले प्रिफ्याव भवन बनाएर कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको हो ।










