मकवानपुरमा जारी निषेधाज्ञा फेरी थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमण अझै कमी नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा खाद्यान्न, तरकारी र दुग्ध पदार्थ विक्री गर्ने पसलहरु भने विहान ८ बजेसम्म खोल्न पाउने भएका छन् । निषेधाज्ञाको समय थप गर्ने बैठकमा किन कोरोना महामारी कम हुन सकेन भन्ने पक्षबाट पनि छलफल हुनु पर्ने थियो । यस्तै कति दिन यसरी नागरिकलाई घरमै बस्न अनुरोध गर्ने ? दैनिक ज्याला मजदुरी गर्नेहरुको हातमुख जोर्ने विषयमा पनि छलफल भएको पाइँदैन । आदेश जारी गर्दैमा मात्र समाधान हो त ? विकल्प केही छन् कि भन्ने तर्फ पनि ध्यान दिन आवश्यक हुन्छ ।
एक महिनादेखि देशभर नै निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका निषेधाज्ञा पटक–पटक थप हुँदै आएको छ । काठमाडौं उपत्यकालाई दृष्टिगत गरी अन्य जिल्लामा निर्णय हुने गरेका छन् । विश्वभरी नै कोरोना महामारी नियन्त्रणको महत्वपूर्ण औजारका रुपमा निषेधाज्ञा विधि प्रयोगमा छ । महामारीको चेन ब्रेक गर्ने भन्दै लगाइएको निषेधाज्ञा कति दिनसम्म प्रभावकारी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । निषेध घोषणा मात्रले महामारी नियन्त्रण हुने होइन । बरु मानिसका व्यवहारमा परिवर्तन आवश्यक छ । निषेधका अवधिमा मानिसको व्यवहार परिवर्तनका लागि के कस्ता कार्यक्रम भए भन्ने महत्वपूर्ण विषय हो । नागरिकलाई डर मात्र देखाउने भन्दा पनि भाइरससँग बँच्दै बाँच्न सक्ने कला र उपायको खोजी आजको आवश्यकता हो ।
नागरिकलाई घरमै बस्न आदेश दिँदैमा कोरोना संक्रमण कम भएको छैन । राज्यले आफ्नो प्रयास सफल भएको दावी गर्ने हो वा किन यतिबेला परीक्षणको संख्या घटाएको छ । परीक्षण नै घटाइएपछि संक्रमण पनि स्वभाविक कम देखिएको छ । तर विज्ञहरुले संक्रमण अझै कम नभएको बताइरहेका छन् । प्रतिशतका आधारमा कोरोना महामारी अझै डरलाग्दो अवस्थामा रहेको उनीहरुको भनाईले पनि देखाइएको आँकडा र समाजमा कोरोनाको वास्तविकतामा धेरै फरक देखिने अवस्था छ । पक्कै पनि सहरी क्षेत्रमा संक्रमण कम भएको हुन सक्छ । संक्रमणको आशंकामा गाउँमा भन्दा सहरमा परीक्षण गराउनेहरुको संख्या बढी नै हुने गर्दछ । लगातारको बन्दाबन्दीले सहरमा संक्रमणको चेन ब्रेकमा केही सहयोग पक्कै पुगेको हुनु पर्दछ ।
यतिबेला संक्रमणको डँढेलो गाउँवस्तीमा पुगेको विज्ञहरुको दावी छ । तर त्यहाँ परीक्षणका लागि न त नागरिक तयार हुन्छन् न राज्यकै तर्फबाट परीक्षणको कार्यक्रम पुर्याइएको छ । नागरिकलाई विश्वासमा लिएर राज्यका तर्फबाट ठोस कार्यक्रमसहित कोरोना विरुद्धको अभियान चलाउन पर्दछ । कोरोनाबाट भाग्ने भन्दा पनि प्रतिरोधका लागि तयार हुनु पर्ने अवस्था छ । बन्दाबन्दीले मात्र कोरोना नियन्त्रण हुने भए अझै पनि मकवानपुरमा दैनिक मृत्यु हुनेको संख्यामा कमि आएको छैन भने संक्रमितको संख्यामा पनि बढोत्तरी नै छ । परीक्षणको दायरा बढाउने हो भने अझै संख्या बढ्ने देखिन्छ । त्यसैले बन्दाबन्दीले मात्र नतिजा दिन सक्दैन भन्ने तथ्यलाई मनन् गरी विकल्पको खोजी पनि गर्नु पर्दछ । रोगले भन्दा भोकले नागरिकको ज्यान जाने अवस्थालाई मध्य नजर गरी जीवनरक्षाका अन्य उपायको खोजीमा पनि ध्यान दिन आवश्यक छ ।