पिप्ले युवा क्लबका कोषाध्यक्ष सुदीप सापकोटालाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै नर्वदा बानियाँ ।

हेटौंडाः हेटौंडाको क्याम्पामा निर्मार्णाधीन मिनि रंगशालामा प्याराफिट निर्माण गर्नका लागि सहयोग जुट्ने क्रम जारी छ । पिप्ले युवा क्लबले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण सुरु गरेको प्याराफिट निर्माणका लागि बुधबार गैरआवासीय नेपाली संघ क्यानडाका पुर्ब उपाध्यक्ष रमेश बानियाँले १ लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

आमा नर्वदा बानियाँको हातबाट बुधबार सहयोग रकम हस्तान्तरण गरिएको छ । दुई हप्ता अगाडि मात्र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्याराफिटको शिलान्यास गर्नुभएको थियो । हाल प्याराफिटको हात्तिपाइले अर्थात जग हाल्ने काम सकिएर पिल्लर उठाउने कार्य भइरहेको छ । १ महिनामा पहिलो चरणको काम सक्ने उद्देश्यका साथ काम भइरहेको क्लबले जनाएको छ ।

१० हजार दर्शक क्षमताको प्याराफिट बनाउने योजनाका साथ काम थालेको पिप्ले युवा क्लबले उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा प्रदान गरेको बजेटमा ३ हजार दर्शक क्षमताको प्याराफिट निर्माणगरी आगामी आर्थिक वर्षमा बाँकी काम गर्ने बताइएको छ ।