बजारको चहलपहलले कोरोना संक्रमण बढाउने तथ्यका आधारमा देशका ७० वढी जिल्लामा यतिबेला निषेधाज्ञा लागू भएको छ । महामारी नियन्त्रणका लागि यो नै उत्तम विकल्पका रुपमा विश्वका सबै देशले प्रयोग गरेको विधि हो । नागरिक स्वयम्ले निषेधाज्ञा लागू गर्नु आवश्यक हुन्छ । बजार खुल्ला भएपनि नागरिक स्वयम् सचेत भएमा यस्तो लकडाउन आवश्यक नै हुने थिएन । कोरोना महामारी पराजित गर्न सफल हुँदै गएको देशहरुमा राज्यको नीति नियमभन्दा पनि नागरिकले गरेको आत्मअनुशासन महत्वपूर्ण भएको छ । तर हाम्रोजस्तो देशमा नागरिकहरु काम नै नभए पनि निषेधाज्ञाको पालना सरकारले कसरी गराएको रहेछ भन्दै बजार निस्कने गर्दा महामारी विस्तारमा सहयोग पुग्दै आएको छ ।
मकवानपुरमा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक सेवाबाहेकका सबै सवारी साधनदेखि मानिसको आउजाउ तथा व्यापार व्यवसाय र कार्यालयसमेत बन्द गर्न भनिएको अवस्था छ । प्रशासनको अनुमतिबाहेकका सवारी साधन गुडाउन नपाउने, मानिसहरु पनि औचित्यका आधारमा मात्र हिँडडुल गर्नुपर्ने, त्यसका लागि प्रमाण नै पेश गर्नुपर्ने अवस्था छ । तर हिँड्न छाडेको छैनन् । दैनिक प्रहरीले सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरेकै हुन्छ । कामको औचित्य पुष्टि गर्न नसक्ने अवस्थामा घरबाहिर निस्कनु भनेको नागरिकमा देखिएको अटेरीपन नै हो । राज्यको निर्देशन अवज्ञा गरेर जित्नेभन्दा कोरोनासँग पराजित हुनु हो । त्यसैले सरकारले नभने पनि अत्यावश्यकबाहेक घरमै बस्नु बुद्धिमानी ठहर्नेछ ।
मानिसको भिड कम गर्न भन्दै प्रशासनले अत्यावश्यक वस्तुमध्ये दूध, तरकारी, फलफूल, खाद्यान्न पसल खोल्न निश्चित दिन र समय निर्धारण गरिदिएको थियो । तर प्रशासनले तोकेको यो समयमा फेरि उत्तिकै भिडभाड देखिएपछि र कोभिड–१९ का संक्रमितहरु थपिँदै गएपछि प्रशासनले औषधी पसलबाहेकका सबै पसल बन्द गराउने आदेश जारी गरेको छ । तर नागरिकले दैनिक उपभोग्य खाद्यवस्तु खरिद गर्नुपर्ने बाध्यता पनि छ । यस कुराको तालमेल हुन नसक्दा समस्या भएको छ । बजारमा ग्रामीण क्षेत्रका मानिसको उपस्थिति न्यून भए पनि बजार क्षेत्रकै मानिसहरुले कोभिडको महामारी छ भन्ने कुरालाई बिर्सिएका छन् । आवश्यक भएर खरिद गर्ने भन्दा पनि निषेधाज्ञा अन्त्यको सुनिश्चित नभएपछि अतिरिक्त भण्डारणका लागि सामान खरिद गर्नेहरुको भिड बढ्दै गएको छ ।
प्रशासनले भिड कम गर्न भन्दै हेटौंडा बजारमा औषधीबाहेकका सबै पलहरु बन्द गर्ने भनेको अवस्था छ । यही जेठ १३ गतेसम्मका लागि लागू भएको यो नियम पूर्णरुपमा पालना हुन सकेको देखिँदैन । निर्णय पनि व्यवहारिक छैन । व्यवसायीका लागि समस्या भन्दा पनि उपभोक्ताका लागि कठिन भएको छ । त्यसैले अर्को निर्णय गर्दा अत्यावश्यक खाद्यान्न तथा तरकारी पसलहरु बजारमा भन्दा पनि स्थानीयरुपमा नै सुरक्षाका मापदण्ड अपनाएर खोल्न दिएमा मानिसहरु आफूलाई अनुकूल समयमा खरिदका लागि जाँदा भिड कम हुनसक्छ । समय निर्धारण गर्दा एकै पटक चहलपहल हुँदा कोरोना फैलने मौका मिल्ने देखिन्छ । त्यसैले बाक्लो उपस्थिति हुन नदिने गरी बजार व्यवस्थापन हुन आवश्यक छ ।