सडकमा काम लागि बसिएका श्रमिकहरु ।

हेटौंडाः ‘बिहानदेखि बेलुकासम्म सडकको नजिकै आएर बसेँ, तर कामै पाइएन’, २४ वर्षीय सद्दाम हुसेनले सुनाउनुभयो । सवारी साधनको त्रिपाल सिलाउने काम गर्दै आउनुभएका हुसेनलगायतले निषेधाज्ञा लागू भएपछि काम पाउन सक्नुभएको छैन ।

‘हाइवेमा सवारी चलेपनि रोक्न पाइँदैन । ट्रक, ट्रयाक्टर नरोकी हाम्रो काम हुन्न’, हुसेनले भन्नुभयो । बारा जिल्लाको जीतपुर घर भएका हुसेन ६ वर्षदेखि हेटौंडामा बसेर काम गर्दै आउनुभएको छ । ट्रक तथा ट्याक्टरको त्रिपाल सिलाउने काम गर्दै आउनुभएका उहाँ भन्नुहुन्छ– ‘महामारीले हाम्रो रोजीरोटी नै खोस्ला भन्ने पिर छ । ‘अरु नयाँ काम गर्न आउँदैन । आफूले गर्दै आएको काम गर्न पाए हुन्थ्यो ।’

हेटौंडा उपमहानगरपालिकामा निषेधाज्ञा लागू भएपनि राजमार्गमा गुड्ने सवारीहरुलाई रोकिएको छैन । तर, राजमार्गमा गुडेका सवारी बीचमा रोक्न नपाइने भएपछि हुसेनजस्तै त्रिपाल सिलाउने काम गर्दै आउनुभएका आरिफ अन्सारी पनि चिन्ता व्यक्त गर्नुहुन्छ । हुसेनसँगै कोठा भाडामा लिएर बस्दै आउनुभएका अन्सारीले भन्नुभयो– ‘दिनैभर कुरेर पनि काम पाउन सकिएन । अब ऋण लिएर दैनिक गुजारा चलाउँछौं ।’

खर्च कटाएर मासिक १० हजार जोगाउने गरेको भएपनि उहाँहरुले अहिले कामै पाउन सक्नुभएको छैन । कोभिड जोखिम न्यूनीकरण गर्न जारी गरिएको निषेधाज्ञामा उहाँहरुमात्रै होइन, सवारी चालकहरु पनि बरोजगार बनेका छन् । हेटौंडामा ८ वर्षदेखि टेम्पो चलाउँदै आउनुभएकी जुना थिङ निषेधाज्ञाले बेरोजगार बनाएको बताउनुहुन्छ । कति दिन बेरोजगार बस्नुपर्ने हो उहाँलाई थाहा छैन ।

यसैगरी म्याजिक चालक हरिशरण थापा गतवर्षको लकडाउनमा १ सय ८० दिन सवारी थन्क्याएर राख्नुपरेको सुनाउनुहुन्छ । अब फेरि कति दिन गाडी थन्क्याउनुपर्ने हो । थापा चिन्ता व्यक्त गर्दै भन्नुहुन्छ, ‘सवारी बन्द हुँदा दैनिक आम्दानी नै गुम्यो । खर्च कटाएर दैनिक ३ हजार बचाउने गर्नुभएका थापालाई अब सवारीको किस्ता तिर्ने चिन्ता थपिएको छ ।’