हेटौंडाः बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि न्यून ब्याजदरमा सहुलियपूर्ण ऋण दिन चालु आर्थिक वर्षमा ३ अर्बको कोष स्थापना गरेको छ । कोषले बैंकमार्फत् सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी गर्छ । कृषि विकास बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बागमती प्रदेशका नागरिकलाई कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन व्यवसाय, व्यापार व्यवसाय, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहोरमैला व्यवस्थापनमा ऋण प्रवाह गर्दै आएको छ । यो कार्यक्रमअन्तर्गत् पाँच वर्षका लागि अधिकतम १० लाख रुपैयाँसम्म ऋण पाउन सकिन्छ ।
कृषि विकास बैंकले हालसम्म ३ प्रतिशत ब्याजदरमा ५ सय २८ जनालाई ४३ करोड ८४ लाख १६ हजार रुपैयाँ सहुलियतपूर्ण ऋण लगानी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले कृषि विकास बैंकलाई पहिलो किस्ताबापत ४० करोड उपलब्ध गराएको मन्त्रालयका राजस्व शाखाका अधिकृत विनोद बिडारीले जानकारी दिनुभयो । बैंकले प्रदेश सरकारले उपलब्ध गराएभन्दा केही बढी ऋण लगानी गरेको छ, उहाँले भन्नुभयो, ‘छिट्टै बैंकलाई दोस्रो किस्ता ४० करोड उपलब्ध गराइनेछ ।’
यसैगरी मन्त्रालयले साना किसान लघुवित्तलाई पहिलो किस्ता २० करोड र दोस्रो किस्ताबापत २० करोड रुपैयाँ गरी ४० करोड रुपैयाँ उपलब्ध गराएको छ । साना किसानले पहिलो किस्ताबापत २ सय ६५ जना र दोस्रो किस्तामा ४ सय ३७ जनालाई ऋण प्रवाह गरेको छ । साना किसानले पनि ३ प्रतिशत ब्याजदरमा प्रदेशभरका ७ सय २ जनालाई ४० करोड ऋण लगानी गरेको मन्त्रालयका अधिकृत बिडारीले बताउनुभयो ।
ऋण प्राप्त गर्न धितो जमानी र धितो नभएकाहरुको हकमा समूह जमानीमा ऋण प्रवाह हुने जानकारी उहा“ले दिनुभयो । धितो नभएकाहरुको हकमा ऋण प्रवाह हुने परियोजना नै सुरक्षण गरी ऋण प्राप्त गर्न सकिने उहा“को भनाई छ । यस्तै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशका सम्पूर्ण नागरिक, कृषक तथा नवप्रवर्तक, लघु व्यवसायीहरुलाई सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ ।