छ दिने विपद् जोखिम न्यूनीकरण प्रशिक्षक प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु ।

हेटौंडाः बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा बागमती प्रदेश प्रहरी कार्यालयको सञ्चालनमा छ दिने विपद् जोखिम न्यूनीकरण प्रशिक्षक प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ । हेटौंडास्थित प्रदेश प्रहरी कार्यालय परिसरमा आइतबार बिहान बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. मानबहादुर बिकेले तालिमको उद्घाटन गर्नुभएको हो ।

प्रशिक्षक प्रशिक्षणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहका कर्मचारी गरी ३७ जनाको सहभागिता रहेको छ । प्रशिक्षणमा सहभागी प्रशिक्षकले तालिमपश्चात सम्बन्धित निकायमा रहेका अन्य सरोकारवालालाई पनि तालिम प्रदान गरी विपद् व्यवस्थापन तथा विपद्को जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताउनुभयो । विपद्मा प्रहरी मात्रै नभएर समुदायका सवै क्षेत्रको भूमिका रहने भएकोले प्रहरीसँगै स्थानीय सरकारका प्रतिनिधिलाई पनि सहभागी गराइएको उहाँको भनाइ थियो ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिकेले विपद्को सामना गर्नु जीवन जिउने आधारभूत कलाकै रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । विपद्का अनेकौं नयाँ नयाँ आयामहरुको सामना गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर सरकार, नागरिक समाज र आम नागरिकले सतर्कता अपनाउनुपर्नेमा प्रमुख सचिव डा. बिकेले जोड दिनुभएको छ । विपद्लाई रोक्न नसकिए पनि विपद्बाट हुने जोखिम र क्षतिलाई न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्रोत, साधन र जनशक्तिको उचित व्यवस्थापन भए विपद्को जोखिम र क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो । मकवानपुर जिल्लाले विपद्को जोखिमलाई विश्लेषण गरेर विपद् प्रतिकार्य योजना बनाएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव नारन प्रसाद पोखरेलले विपद् व्यवस्थापनको विषय संघीय, प्रदेश र स्थानीय तीनै सरकारको साझा सूचिको कार्य भएकोले सहकार्य र समन्वयबाट आवश्यक कार्य गरिने बताउनुभयो । ऐन, कानुनमा विपद् न्यूनीकरणका योजना भए पनि कार्यान्वयन पक्ष फितलो रहेको पोखरेलको भनाइ थियो ।