हेटौंडाः नारायणी अञ्चल आयुर्वेद औषधालयले मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा शिविरको आयोजना गरेको छ । शुक्रबार आयोजना गरिएको शिविरमा दुई सय भन्दा बढीले सेवा लिएको अञ्चल आयुर्वेद औषधालयकी प्रमुख डा. सृष्टि श्रेष्ठले जानकारी दिनुभएको छ ।
अञ्चल आयुर्वेद औषधालयले सुगर, प्रेसर, ग्याष्ट्रिक, बाथ रोगसम्बन्धी आवश्यक परामर्श तथा औषधी वितरण गर्नुका साथै फिजियोथेरापी सेवा समेत प्रदान गरेको डा. श्रेष्ठको भनाइ छ । श्रेष्ठको नेतृत्वमा अञ्चल आयुर्वेद कार्यालयका डा. नितेश कुमार गिरि, डा. रमेश कुमार चौधरी, फिजियोथेरापिष्ट डा. आशिष सुवेदी, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका कविराज अशोक झालगायतका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
वार्षिक कार्यक्रमअन्तर्गत निशूल्क शिविरको आयोजना गरिएको डा. श्रेष्ठले बताउनुभएको छ । शिविरमा जटिल प्रकृतिका विरामी नभेटिएको र आयुर्वेदिक उपचार विधिका बारेमा सर्वसाधारणलाई सचेत गराउनुका साथै यसको महत्वका बारेमा समेत जानकारी गराइएको डा. श्रेष्ठको भनाइ छ । शिविरमा भीमफेदी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बुद्धिबहादुर सिञ्जलीको पनि उपस्थिति रहेको थियो ।